काठमाडौं । बाढी–पहिरोले देशका विभिन्न जिल्लामा ठूलो क्षति पु-याएको छ । गृह मन्त्रालयले शुक्रबार साँझ ५ बजे उपलब्ध गराएको जानकारीअनुसार बाढी–पहिरोमा परेर शुक्रबार देशभर २३ जनाको मृत्यु भएको छ । बाढीले दुई र पहिरोले ६ गरी आठ जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर ३६ जना बेपत्ता र २६ जना घाइते भएका छन् ।
बाढीपहिरोले म्याग्दीमा तीन, लमजुङमा तीन, कास्कीमा सात, रुकुम पश्चिममा दुई, जाजरकोटमा सात र गुल्मीमा एक जनाको मृत्यु भएको हो । म्याग्दीमा ३१ जना र जाजरकोटमा पाँच जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । यस्तै, लमजुङमा पहिरोमा परेर तीन, कास्कीमा १७, रुकुम पश्चिममा एक, जाजरकोटमा पाँच गरी २६ जना घाइते भएका छन् । शुक्रबार सबैभन्दा धेरै क्षति म्याग्दीमा गरेको छ । बिहीबार राति आएको पहिरोले मुख्यतया मध्यपश्चिमी जिल्लाहरूमा बढी क्षति गरेको छ ।
म्याग्दी सबैभन्दा बढी प्रभावित
जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको जानकारीअनुसार धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा आठ जना र मालिका–६ दुखु खोलाले बगाएर एक जना महिला बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
यता रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो ।
पहिरोमा परी मराङमा २० घर, ताकममा पाँच घर, बिममा १० घर पूर्ण रूपमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ । घरमा क्षति भएपछि बिचल्लीमा परेका बासिन्दालाई नजिकैका बिद्यालय भवन र छिमेकीको घरमा राखिएको छ । राहत र उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ ।
पोखरामा सात जनाको मृत्यु
अविरल वर्षाका कारण आएको पहिरोले पोखराका विभिन्न ठाउँहरूमा सात जनाको जनाको मृत्यु र अन्य १२ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घर पहिरोले बगाएको थियो । उक्त पहिरोमा पुरिँदा पाँच जनाको मृत्यु भएको छ ।
थापासँगै उहाँकी श्रीमती र तीन जना नातीनातिनाको पनि मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । पहिरोमा परी घाइते भएका अन्य पाँच जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूको मणिपाल शिक्षण अस्पताल र एक जनाको गण्डकी अस्पतालमा उपचार भईरहेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । दुई जना भने पहिरो आएको थाहा पाएपछि भागेर जोगिएका छन् । उनीहरूलाई सामान्य चोटपटक लागेको छ ।
त्यस्तै, पोखरा महानगरपालिका–२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा अधिकारीकी आमा ७० वर्षीया भीमकलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उहाँका पत्नी, एक छोरा र एक छोरीको भने उद्धार गरिएको कास्की प्रहरीका प्रवक्ता हमालले जानकारी दिनुभयो ।
पोखरा–१८ छोरेपाटनस्थित सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगर र उहाँकी श्रीमती शान्ति हित छोरा सुशान मगर सामान्य घाइते हुनुभएको छ । उहाँहरूको नमस्ते अस्पताल पोखरा बिरौटामा उपचार भइरहेको छ । त्यस्तै, पोखरा–५ मालेपाटमा पनि पहिरोकै कारण दुई जना घाइते भएका छन् ।
लमजुङमा तीन जनाको मृत्यु
लमजुङ सदरमुकाम बेसीशहरका पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बेसीशहर नगरपालिका–७, सातबिसेस्थित दीपक तामाङको परिवार पहिरोमा पुरिएका हुन् । बिहीबार राति ११ बजेको समयमा पहिरोले घर पुर्दा ३० वर्षीय दिपक तामाङ, उहाँको श्रीमती २५ बर्षीया विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
घरमा दीपकका आमाबुवा र छोरी पनि बस्दै आए पनि बिहीबार राति भने उहाँहरू आफन्तकोमा गएका कारण जोगिनुभएको थियो । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते हुनुभएको छ । घरदेखि करिब ५० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेले हारगुहार गरेका थिए ।
गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु
गुल्मीको कालिगण्डकी गाउँपालिकामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान गएको पहिरोले पुरिएर मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहनुभएको छ । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासि झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो ।
सेती नदीले ४२ घर डुबान
निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर डुबानमा परेका छन् । अविरल वर्षाले नगरपालिकाको वडा नम्बर ४ र ८ का घरहरू डुबानमा परेको हो । डुवानमा परेका घरका परिवारको बिहान उद्धार गरिएको वडा नम्वर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले वडा नम्बर ८ का १४ घरपरिवारलाई शुक्रबार बिहानै त्यहाँबाट निकालेर सुरक्षित स्थानमा राखेको बताउनुभयो । त्यस्तै ४ नम्वर वडाका डुबान प्रभावितलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नदी किनार वरपर रहेका घरहरू उच्च जोखिममा रहेकाले त्यस्ता घरपरिवारलाई सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।




















