काठमाडौँ:= वैदेशिक रोजगारीमा जानको लागी सोमबार सम्ममा ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् । विश्वभर माहामारीको रुप लिएर फैलिएको कोरोनाभाइरस ( कोभिड – 19 ) को संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुले रोजगारी गुमाए ।
विदेशमा रोजगारी नभएपछि कैयौं हजारको हाराहारीमा नेपालीहरु स्वदेश पनि फर्किए । रोजगारी गुमाएर विभिन्न देशमा अलपत्र परेका करिब २० हजार बढी नेपालीलाई सरकारले स्वदेश फर्काइसकेको छ । अझै हजारौंको संख्यामा नेपाली स्वदेश फर्किन चाहेका छन् । तर, यसको विपरित लकडाउनअघि नै नेपाल आएका युवाहरु भने पुनः विदेश फर्किन थालेका छन् । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुन: श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार मात्रै १९ देशका लागि ४१० जनाले पुन: श्रम स्वीकृति लिएको स्रोतले बताए।
सबैभन्दा धेरै १९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रुनाइका लागि ७,जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि एक जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जना,कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि दुई जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।
किनभने कतिपय श्रम गन्तब्य भएका अन्तर्राष्ट्रिय मुलुक मलेसिया लगायतको देशहरुले पनि कोरोनाको कारण अनिश्चित समयको लागी विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको छ।




















