मच्छिन्द्रनाथको रथारोहण असार २४ गते हुने

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । कोरोनाको कारण अन्य धार्मिक कार्यक्रम स्थगित भईरहेको अवस्थामा रातो मच्छिन्द्रनाथको रथारोहण भने नरोकिने बताइएको छ । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चार÷चार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।’ सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिनुभयो । 

जात्रा अघि बढाउन ललितपुरका विभिन्न संघ–संस्थामा आबद्ध व्यक्ति, धार्मिक संघ–संस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लािगसकेको छैन । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ ।  यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रा हो । 

युगौँदेखि चल्दै आएको रथयात्रा यस वर्ष भने कोभिड–१९ ले सामान्य हुने अनुमान गरिए पनि रोगभन्दा संस्कृति ठूलो भन्ने मान्यताका साथ भक्तजन दर्शनमा आउने गरेका पानेजु पूर्णराज शाक्यले बताउनुभयो । कोरानाका कारण सामाजिक दूरी कायम गरी भक्तजनलाई मच्छिन्द्रनाथको दर्शन गर्न दिने व्यवस्था मिलाइएको शाक्यले जानकारी दिनुभयो ।