प्रधानमन्त्री ओली निर्णायक कदम चाल्ने तयारीमा

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय बढ्दै गएको शक्तिसंघर्षका बीच निर्णायक कदम चाल्ने तयारी गर्नुभएको छ ।

आफ्नै पार्टीभित्र चर्को आलोचना खेपिरहनुभएका ओलीले आफूविरुद्ध आन्तरिक गठबन्धन बलियो हुँदै गएको महसुस गर्दै निर्णायक कदम चाल्ने तयारी गर्नुभएको हो । सोही क्रममा उहाँले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ भने त्यसलगत्तै मन्त्रीहरू तथा राज्यमन्त्रीहरूसँग परामर्श गर्नुभएको छ । बालुवाटारमा साँझ मन्त्रीहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै ओलीले अब चुप लागेर बस्ने बेला नभएको बताउनुभएको थियो ।

उहाँले मन्त्रीहरूलाई पनि आफ्नो ‘पोजिसन क्लियर’ गर्न सुझाव दिनुभएको छ । ‘तपाईहरू कता लाग्ने हो, विचार गर्नुस्,’ मन्त्रीहरूलाई पार्टीभित्र विभाजन रेखा कोरिएकोतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘विवेक प्रयोग गरेर आफ्नो पोजिसन क्लियर गर्नुहोला ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको सूचना पाएर नै संसद अधिवेशन अन्त्य गरिएको व्यहोरा सुनाउनु भएको थियो । ‘राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याएर हटाउने र मलाई दुवै पदबाट हटाउने षडयन्त्र भइरहेको छ,’ मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईहरू कसको पक्षमा उभिने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? विचार गर्नुहोला ।’

असमझदारीको आगो दन्किदै

विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच चुलिएको असमझदारीको आगो तत्काल निभ्ने संकेत देखिएको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद आफूसँग राखेर बाँकी विषयमा सहमति खोज्न आफू तयार रहेको दोहो¥याउनुभएपछि नेकपामा चुलिएको विवाद तत्काल मत्थर नहुने देखिएको हो । 

पार्टीमा देखिएको पछिल्लो विवाद समाधानको प्रयासस्वरूप शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रधानमन्त्री र अध्यक्ष नछोड्ने अडान राख्दै बाँकी विषयमा सहमति खोज्ने भए आफू तयार रहेको प्रष्ट्याउनु भएको थियो । 

बालुवाटार बैठकपछि खुमलटार पुगेर कार्यकारी अध्यक्ष दाहालले शुक्रबार नै ओली इतर समूहमा रहेका पार्टीका शीर्ष नेताहरूलाई ‘ब्रिफ’ गर्ने क्रममा उक्त कुराको खुलासा गर्नुभएको थियो । 

कार्यकारी अध्यक्षनिकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष नत्याग्ने अडानमा यथावत हुनुहुन्छ । उहाँ गत मंसिर ४ को सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याउँदै सोही सहमतिलाई मिलन विन्दुका रुपमा अथ्र्याइरहनुभएको छ । 

पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर प्रधानमन्त्री ओली र दाहालबीच मनमुटाव चर्किएपछि गत मंसिर ४ गतेको सचिवालय बैठकले पार्टी एकताका क्रममा गरिएको गोप्य सहमतिमा उल्लिखित ‘आलोपालो सरकार चलाउने’ समझदारी खारेज गर्दै दुवै अध्यक्षको कार्यविभाजन गरेको थियो । सचिवालय बैठकले ओलीलाई पाँचै वर्ष सरकार सञ्चालन गर्न दिने र अर्का अध्यक्ष दाहाललाई आमरूपमा पार्टी सञ्चालनको जिम्मासहित कार्यकारी अध्यक्षको भूमिका प्रदान गर्ने निर्णय गरेको थियो । 

तर, कार्यकारी अध्यक्ष दाहालले उक्त सहमतिपछि पनि कार्यकारी भूमिका निर्वाह गर्न नपाएको गुनासो बेलाबेला पोख्दै आउनुभएको छ । यसबीचमा उहाँले बैठक आहृवान गर्नेदेखि निष्कर्ष निकाल्ने र निर्देशन जारी गर्ने अवसर नै पाउनुभएको छैन । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आफू लचिलो बन्दा प्रधानमन्त्री ओलीमा दम्भ र अहंकार बढेको दाहालको बुझाइ छ । 

गत बिहीबार पार्टीमा चुलिएको विवाद समाधानको उपायका बारेमा छलफलका लागि बोलाइएका ओलीनिकट नेताहरूसँग पनि उहाँले पार्टी एकताको अढाइ वर्ष आफूले अत्यन्तै अपमान सहनु परेको र आलोपालो पार्टी र सत्ता सञ्चालन गर्ने सहमति त्यागेर गल्ती गरेको गुनासो गर्नुभएको थियो ।

ओलीको कार्यशैलीप्रति असन्तुष्ट कार्यकारी अध्यक्ष दाहाल पार्टी एकताताका क्रममा भएको पाँच बुँदे गोप्य सहमतिलाई आधार बनाएर नयाँ सहमतिको प्रयासमा जुट्नुभएको उहाँनिकट स्रोतको दाबी छ । 

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारतीय राज्य संयन्त्रले सक्रियता बढाएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको थियो । विवादकै क्रममा ओलीले बिना परामर्श बिहीबार संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको छ ।

स्थायी कमिटी बैठक फेरि स्थगित

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच पार्टीभित्रको संकट समाधानको प्रयासका लागि पार्टीको जारी पाँचौं स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको छ ।

शनिबार बिहान ओली र दाहालबीच फोन संवादमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर पार्टीमा चुलिएको विवाद समाधानका लागि सहमतिको प्रयास गर्ने समझदारी भएको हो । शुक्रबारको बैठक सहमतिमा नपुगेपछि दुवै अध्यक्षका बीचमा शनिबार बिहान ९ बजे फेरि वार्तामा बस्ने र स्थायी कमिटी बैठकअघि नै समाधान खोज्ने समझदारी भएको थियो ।

नेकपाको जारी पाँचौं स्थायी कमिटीको बिहीबार बसेको छैठौं बैठकले पार्टी एकता हरहालतमा रक्षा र सुदृढ गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल आवश्यक रहेको निष्कर्ष निकालेको थियो । सोही बैठकको निष्कर्षअनुसार दुवै नेताहरूका बीचमा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल भए पनि बिना कुनै ठोस निष्कर्ष टुंगिएको थियो । 

पार्टी एकताको पक्षमा योगदान गर्न अपिल

तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका लागि भएको गोप्य सहमतिका साक्षी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी एकताको पक्षमा योगदान गर्न नेता–कार्यकर्तालाई अपिल गर्नुभएको छ । 

शनिबारका लागि निर्धारित पार्टीको स्थायी कमिटी बैठक स्थगित भएलगत्तै सामाजिक सञ्जालमार्फत नेता शर्माले रूपान्तरण सहितको एकता अहिले आवश्यकता रहेकोमा जोड दिँदै पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्नुभएको हो ।  उहाँले अध्यक्षद्वय ओली र दाहालले के गर्नुहोला भनेर हेरेर बस्न नहुनेमा जोड दिँदै पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्ने गम्भीर जिम्मेवारी नेता–कार्यकर्ताको काँधमा आएको पनि जिकिर गर्नुभएको छ । ‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता– कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ,’ शर्माले भन्नुभएको छ । 

कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त नभएको स्मरण गराउँदै उहाँले भन्नुभएको छ, ‘एकताको एक अभियन्ताको नाताले सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु ।’ 

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि भएको पाँच बुँदे गोप्य सहमतिका साक्षीमध्ये नेता शर्मा पनि पर्नुहुन्छ । ओली र दाहालबीच भएको उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र कार्यकारी अध्यक्षका तर्फबाट शर्माले हस्ताक्षर गर्नुभएको थियो । ओली–दाहालबीचको गोप्य सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो । 

नेता शर्माले पार्टी एकता गर्दा गरिएको सहमति, आमजनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरेर रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह पनि गर्नुभएको छ । उहाँले नेकपा फुट्न नफुट्ने र फुट्न पनि नदिइने दाबी गर्नुभएको छ । 

‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन, फुटाउन दिइँदैन । पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपूर्तिको हतियार बन्न दिनुहुँदैन,’ शर्माले भन्नुभएको छ, ‘तसर्थ एकता गर्दा गरिएका सहमति, आमजनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं ।’

उहाँले नेकपाभित्र चुलिएको विवादलाई ओली–दाहालबीचको समस्याका रूपमा मात्रै हेर्न नहुने पनि उल्लेख गर्नुभएको छ । ‘नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याको रूपमा मात्र नहेराँै यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको छ,’ नेता शर्माले भन्नुभएको छ ।