मलेसिया र खाडी मुलुकबाट स्वदेश फर्कने नेपालीहरुले ध्यान दिनुपर्ने कुराहरू।

क्वालालम्पुर ( मलेसिया ):= के तपाईँ अहिलेकै अवस्थामा नेपाल सरकारले बन्दोबस्त गरेको चार्टर्ड विमान मार्फत स्वदेश फर्कदै हुनुहुन्छ? यदि हो भने , खाडी मुलुक र मलेसियाबाट फर्कंदै हुनुहुन्छ भने स्वदेश फर्कंदा विभिन्न कुरामा ध्यान दिनुपर्छ।

कोरोनाको कारण विभिन्न समस्यामा परेकालाई सरकारले चार्टर्ड जहाजमार्फत स्वदेश फर्काइरहेकोछ । यसरी स्वदेश फर्कंदा आवश्यक कानुनी प्रक्रिया पूरा नभएमा समस्या हुन सक्छ । त्यसैले स्वदेश फर्कनका लागि देशअनुसार त्यहाँका सरकार र नेपाल सरकारले तोकेका प्रक्रियाहरु पूरा गर्नुपर्छ।

स्वदेश फर्किन लागेका नेपालीहरुको लागी नेपाल सरकारले तोकेका मापदण्ड :

तपाईँ विभिन्न देशमा समस्यामा पर्नुभएको छ र स्वदेश फर्कनैपर्ने अवस्थामा हुनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो समस्या प्रष्ट खुलाइ आफू रहेको मुलुकमा नेपाली दूतावासमा सम्पर्क गरेर अथवा अनलाइनको माध्यमबाट दूतावासद्वारा आफ्नो फेसबुक अथवा वेबसाईटमा जारी गरिएको विवरण फारम भर्नुहोस्।

विदेशमा आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट मेमो पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कनुपर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कनुपर्ने अवस्थामा रहेका , पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कनुपर्ने विद्यार्थीलाई विशेष  प्राथमिकतामा राखिएको छ।

तपाईँ पनि यो प्राथमिकतामा पर्नुहुन्छ भने मज्जाले स्वदेश फर्कन पाउनुहुन्छ। तर तपाईँले आफू रहेको देशको कानुन उल्लङघन गर्नुभएको छ, कुनै अपराधिक क्रियाकलापमा संलग्न भएको आरोप छ या कुनै मुद्दा लागेको छ भने त्यो प्रक्रिया पूरा नहुँदासम्म फर्कन पाइदैन। कोरोना महामारी सुरु हुनुभन्दा अघि नै गैरकानुनी ( इलिगल ) रुपमा बस्नुभएको छ भने पनि अहिले स्वदेश फिर्तीको प्रक्रियामा सहभागी भएर फर्कन पाइदैनन्।

सम्बन्धित देश अनुसार स्वदेश फर्कंदा ख्याल गर्नुपर्ने कुराहरु :

मलेसिया :

मलेसियाबाट स्वदेश फर्कने सूचीमा पर्नुभएको छ भने रोजगारदाता कम्पनीको सहयोगमा अध्यागमन बिभागबाट बनाइएको चेकआउट मेमो  या बिदामा फर्किन लागेको हो भने कम्पनीले दिएको यात्रा अनुमति पत्र सहित बिदाको चिठ्ठी आफ्नो साथमा राख्नुपर्छ । सक्कली पासपोर्ट , सरकारले तोकेको मापदण्ड अनुसार नेपाल आइपुग्ने दिनले सात दिनभित्र कोरोनाको पिसिआर जाँच गरेको रिपोर्ट अनिवार्य साथमा हुनुपर्ने छ।

कतार :

तपाईँ कतारमा विभिन्न समस्यामा परेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ र दूतावासले तपाईंको नाम प्राथमिकतामा राखेको छ ? छ भने स्वदेश फर्कनका लागि विभिन्न कुरामा ध्यान दिन दूतावासले अनुरोध गरेको छ । दूतावासले स्वदेश फर्कने नेपालीको सूची कतारको गृह मन्त्रालयमा पठाएको र गृह मन्त्रालयले स्वीकृत नगरेका व्यक्तिहरु पछि मात्र यात्रा गर्न पाउनेछ।

यस्तै दूतावासले कतारबाट स्वदेश फर्कने नेपालीलाई Ehteraz प्रयोग गर्न अनुरोध गरेको छ । यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले अनिवार्य रुपमा यो एप चलाउन दूतावासले अनुरोध गरेको छ । 
यो एप मोबाइलमा डाउनलोड गरी कतारी आइडी नम्बर लगायतका विवरण राखी प्रयोग गर्न सकिन्छ । यो एपमा तपाईँ स्ट्याटस हरियो नभएमा फर्कन पाईंदैन।

यस्तै रोजगारदाताले इस्केप रिपोर्ट दर्ता गएका व्यक्तिको हकमा भने एअरलाइन्सबाट यात्रा गर्ने दिनसहितको टिकट लिएर सर्च एण्ड फलोअफ डिपार्टमेण्टमा आफैं गएर हवाई टिकटमा डिपार्टमेन्टको छाप लगाउन र अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने भएकाले दूतावासले यो प्रक्रिया गर्न पनि आग्रह गरेको छ।

साउदी :

साउदीबाट स्वदेश फर्कने तयारीमा हुनुहुन्छ र भिसाको म्याद सकिएको छ भने पनि चिन्ता नगर्नुहोस् । कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीलाई साउदीले बिना जरिवाना नै स्वदेश फर्कने दिने भएको छ। 
कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुनः प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ।

तर स्वदेश फर्कनका लागि दूतावासले तोकेको प्राथमिकतामा पर्नुपर्छ । तपाईँ बसेको ठाउँबाट विमानस्थलसम्म पुग्नका लागि समस्या छ या हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ भने ख्याल गर्नुहोस् । आफ्नो समस्या दूतावासमा भन्नुहोस् र दूतावासको सल्लाह अनुसार यात्रा गर्नुहोस्।

कुवेत :

कुवेतमा कोरो​ना सङ्क्रमण रोकथामका लागि अहिले पनि कर्फ्यु र लकडाउन छ । त्यसैले तपाईँ प्राथमिकतामा पर्नुभएको छ र टिकट पनि लिइसक्नुभएको छ भने स्वदेश आउनका लागि विमानस्थल जाँदा ध्यान दिनुहोला । नत्र कारबाहीमा पर्न पनि सकिन्छ। 

कर्फ्यु बाहेकको समय बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र हुने भएकोले यो कुरालाईसमेत ध्यानमा राख्दै विमानस्थलमा जानु पर्छ । लकडाउनमा परेका फर्वानिया, माहबुल्ला, जिलिबआदि क्षेत्रमा बस्नेहरूलाई जाँच हुने भएकोले पासपोर्ट र टिकट साथमा लिई सुरक्षाकर्मीले मागेको अवस्थामा देखाउनु पर्छ।
आफू बसेको ठाउँदेखि विमानस्थलसम्म यात्रा गर्दा कुनै समस्या भएमा तत्काल दूतावासमा ​९०९०६४२२,६६६७१५२७, ९९६८९२३१ नम्बरमा फोन गरेर सहयोग लिन सकिन्छ।

ओमान :

ओमानबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्ती सलाम एअरमार्फत गराइरहेको छ । दूतावासले ओमानबाट नेपाल फर्कनेको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पीसीआर रिपोर्ट नेभेटिभ भएकालाई नेपाल फर्किएपछि क्वरेण्टीनमा बस्न नपर्ने र सिधै होम क्वरेण्टीनमा जान पाउने व्यवस्था गरेको छ । त्यसैले रिपोर्ट नेगेटिभ आएपछि मात्रै टिकट काट्नु पर्छ । 

बहराइन :

बहराइनबाट नेपाल फर्कंदै हुनुहुन्छ भने विमानस्थलमा जाँदा पीसीआर वा आरडीटी जाँच सम्भव नभएमा  कुनै स्वीकृति प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको र फिट टू फ्लाई लेखिदिएको प्रमाण पेश गर्न बहराइन स्थित नेपाली  दूतावासले अनुरोध गरेको छ ।

नोट : स्वदेश फर्कन लागेकाहरु सम्बन्धित मुलुकको विमानस्थलमा जाँदा मास्क, ह्याण्ड गोल्पस्,सेनिटाईजर लगायत सुरक्षाका उपायहरु अपनाउनुहोस् । सक्कली पासपोर्टसहित स्वदेश फिर्तीका लागि बनेका सम्पुर्ण आवश्यक कागजात पनि साथैमा राख्नुहोस् । फ्लाइटको उडान समयभन्दा ४ देखि ५ घण्टाअघि नै विमानस्थललमा पुग्नुहोस्। सात दिनभित्रको कोरोनाको पिसिआर जाँच गरेको रिपोर्ट पनि अनिवार्य साथमा राख्नुहोस्।