बाह्रखरी कथा प्रतियोगिता,२ मा मुना चौधरीको कथा ‘लार’ले जिते १ लाख पुरस्कार।

काठमाडौं := बाह्रखरी बुक्स कथा प्रतियोगिता भाग २ मा दुई वटा मूल्याङ्कन समितिबाट छानिएका कथाहरूबाट साहित्यकार मुना चौधरीको कथा ‘लार’ विजेता भएको छ।

समितिबाट छानिएका कथाहरूबाट ‘लार’ प्रथम भएको हो भने दोस्रोमा श्रेयज सुवेदीको ‘बेजोडा’ तथा तेस्रोमा दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ रहेको एक कार्यक्रमका बीच आयोजक समितीले जानकारी गराएका थिए।

प्रथम कथाले एक लाख नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार र ४० हजार रूपैयाँ प्राप्त गरेको जनाइएको छ।
प्रतियोगिताका लागि ६ सयभन्दा बढी कथा प्राप्त भएकामध्ये ५२ कथा छानी तिनलाई पनि विशेष मूल्याङ्कन समितिबाट प्रथम, द्वितीय र तृतीयसँगै अन्य २२ उत्कृष्ट कथा पनि छनोट गरिएको थियो।

[ तस्बिरमा साहित्यकार , कथाकार , उपन्यासकार : मुना चौधरी ]

अविनाश भट्टराई, कर्मसही घर्ती मगर, कल्पना श्रेष्ठ कल्पपुञ्ज, कृष्ण कुसुम, खगेन्द्र गिरी, गोपाल झापाली, जनकऋषि राई (चाम्लिङ), त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, नन्दलाल आचार्य, नारायण लामिछाने, मनोज अज्ञात, महेन्द्र उपाध्याय, मोहन सङ्ग्राम, रत्न प्रजापति, रामदेव पाण्डे, वसन्त आचार्य, समीक्षा खतिवडा, डा. सुनिता तिमिल्सिना, सोमनाथ दाहाल, शिवराज योगी र क्षितिज समर्पणका कथाहरू उत्कृष्ट ठहर गरिएका छन् । उत्कृष्ट यी २२ कथाकारहरुलाई प्रमाणपत्रसहित जनही पाँच हजार रुपैयाँ नगद प्रदान गरिने बाह्रखरीले जनाएको छ।

पुस्तक बाह्रखरीको वेबसाइटबाट सित्तैमा डाउनलोड गर्न सकिने पुरस्कार छनोट समितिका संयोजक राजेन्द्र पराजुलीले बताए।

बाह्रखरीको आन्तरिक मूल्याङ्कन समितिमा कथाकार राजेन्द्र पराजुली, वरिष्ठ पत्रकार गोविन्द अधिकारी, राजेश खनाल र अक्षर काकाले आएका ६ सय बढी कथा छनोट गरेका थिए भने वाह्य मूल्याङ्कन समितिमा रहेका नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले ५२ कथाहरूमध्ये उत्कृष्टहरूको मूल्याङ्कन गरेका थिए।