रुकुम । रुकुम हत्याकाण्डको छानबिन गर्न सरकारले गठन गरेको छानविन समिति जाजरकोट पुगेको छ । बिहीबार राति जाजरकोट पुगेको सहसचिव नेतृत्वको छानबिन समितिले शुक्रबारबाट घटनाका बारेमा छानविन सुरु गरेको हो । समितिले शुक्रबार तीन जना मृतकका परिवारसँग सोधपुछ गरेको छ । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढा र सन्दीप विकको परिवारलाई भेटेर घटनाका बारेमा जानकारी लिएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।
यस्तै समितिले शुक्रबार बाँचेर फर्किएका १२ जनासँग पनि सोधपुछ गरेको छ । मंगलबार घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव रहेको समिति गठन गरिएको थियो । समितिले पीडितका परिवारसँग पहिलो चरणमा भेट गरेर सोधपुछ सुरु गरेको हो ।
घटना भएको स्थान रुकुम पश्चिममा पनि प्रहरीको विशेष टोली पुगेको छ । संघीय प्रहरी इकाई कार्यालय कर्णालीबाट एसएसपी पोषराज पोख्रेलको नेतृत्वमा ८ जनाको टोली रुकुम पश्चिम पुगेको हो । टोलीमा ५ जना अनुसन्धानमा विशेष दखल रहेका प्रहरी छन् । टोलीले घटना अनुसन्धानमा रुकुम पश्चिम प्रहरीको टोलीलाई विज्ञका रुपमा सहयोग गर्ने जनाएको छ ।
काठमाडौंमा प्रदर्शन
काठमाडौं । रुकुम घटनाको विरोधमा लकडाउनकैबीच काठमाडौंमा प्रदर्शन भएको छ । रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले शुक्रबार विरोध प्रदर्शन गरेको हो ।
संघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलासहित देशभरी विरोध प्रदर्शन गरेको जनाएको छ । संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताउनुभयो । यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।
घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागिहरूले शरीरमा कात्रो र दुवै हात बाँधेर ‘सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले पाँच जनाको हत्या र एक जना बेपत्ता पारिएको उक्त घटनाका दोषीलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् । उनीहरूले पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरूलाई शहिद घोषणा गर्नुपर्ने मागसमेत राखेका छन् ।




















