बाँके । बाँकेमा एउटै गाउपालिकामा ११३ जनामा कोरोना भाईरस (कोभिड १९) का संक्रमित भेटिएपछि उच्च सतर्कता अपनाइ पनि प्रभावकारी बन्न सकिरहेको छैन । भारतसँग खुल्ला सीमाना जोडिएका कारण लुकिछिपी भारतबाट आउने तथा नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई नेपालगञ्ज नाका हुँदै भित्र्याउँदा जोखिम झन् बढेको हो । भारतका विभिन्न सहरमा काम गर्न गएका नेपाली जमुनाह नाकाबाट नेपाल प्रवेश गरेपछि सम्वन्धित जिल्लामा पठाउने कार्य सुरु भएसँगै अवस्था थप जटिल बन्दै गएको हो । बाँकेमा बिहीबार बेलुकासम्म १७० जनामा कोरोना संक्रमण पाइएको छ ।
लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा संक्रमण फैलिन थालेको विज्ञहरूको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले निषेधाज्ञा जारी गरी लकडाउनलाई थप कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
भारतबाट दैनिकजसो नेपालीहरू आइरहेका छन् । उनिहरूलाई व्यवस्थापन गरी सम्वन्धित जिल्लामा पठाउने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । क्वारेन्टाइनमा बसेका हजारौं नागरिकको स्वास्थ्य परीक्षण गर्नु, उनीहरूको व्यवस्थापन गर्नु, सुरक्षा व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
बाँकेमा फेला परेका १७१ संक्रमितमध्ये ११३ जना नरैनापुर गाउँपालिकाका छन् । अहिले सो गाउँपालिकाकालाई पूर्ण रुपमा सील गरिएको छ । अधिकांश नागरिक रोजगारका लागि छिमेकी देश भारतमा गएका र उनिहरू आएपछि संक्रमितको संख्या बढिरहेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।




















