वैदेशिक रोजगार बोर्डले बिदेशमा अलपत्र परेका नेपालीको लागी पठायो ७० लाख/४ लाख बढी स्वदेश फर्किने।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस महामारिका कारण विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई खानेबस्ने व्यवस्था गर्न वैदेशिक रोजगार बोर्डले आर्थिक रकम पठाएको छ ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान,हवाई यात्रा बन्द हुँदा घर फर्कन ठिक्क परेका श्रमिकहरु पनि परदेशमै रोकिएका छन् । विशेषगरी साना कम्पनीमा काम बन्द हुँदा श्रमिकलाई खाद्यान्न लगायत विभिन्न समस्या परेको मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेको दूतावासले बोर्डलाई बताएका थिए।

मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेको नेपाली दूतावासले माग गरे अनुसारको झण्डै ७० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद क्ष्रेष्ठले बताए।
कोरोनाको सङ्क्रमणको जोखिम बढेसँगै कम्पनीमा काम रोकिदा, तलब नपाउदा र भिसा सकिएर , श्रम सम्झौता सकिएर घर फर्कन नपाएका धेरै श्रमिकलाई अहिले खाद्यान्नको समस्या भएको छ । यी चार देशले श्रमिकका लागि खान बस्नको व्यवस्था गर्न रकम आवश्यक परेको भन्दै माग गरे अनुसारको रकम सम्बन्धि देशमा रहेको नेपाली दूतावासलाई उपलब्ध गराएको बोर्डको भनाइ रहेको छ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकको राहत र उद्दारका लागि वैदेशिक रोजगार बोर्डले यसअघि पनि सहयोग रकम पठाएको थियो । मलेसिया सरकारले गत बर्षमा गैरकानुनी ( इलिगल ) श्रमिकका लागि ल्याएको ‘ब्याक फर गुड प्रोग्राम’ मार्फत स्वदेश फर्कने श्रमिकका लागि पनि सहयोग पुर्याउने हेतुले मलेसियामा रहेको नेपाली दूतावासले माग गरे अनुसारको रकम पठाइएको बोर्डले जनाएको छ ।
अन्य गन्तव्य देशहरुमा आममाफी घोषणा हुँदा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फिर्ता गर्न सम्बन्धित देशमा रहेका नेपाली दूतावासको अनुरोधमा बोर्डले परराष्ट्र मन्त्रालयमार्फत यसअघिदेखि पनि रकम पठाउँदै आइरहेको बताइएको छ ।

कोरोना महामारीको कारण खाडीका ६ देश र मलेसियाबाट ४ लाख ७ हजार नेपाली विभिन्न कारणबस स्वदेश फर्कन सक्ने एक अध्ययनले देखाएको छ।
वैदेशिक रोजगार बोर्डले गरेको अध्ययनले मलेसियाबाट ३७ हजार, कतारबाट १ लाख ४५ हजार, साउदीबाट १ लाख २० हजार, यूएईबाट ६७ हजार, कुवेतबाट २४ हजार, बहराइनबाट १० हजार ५ सय र ओमानबाट ३ हजार ५ सय जना नेपाली भिसा सकिएर ,कम्पनी संगको श्रम सम्झौता सकिएर , हवाई यात्रा बन्द भएर बसेकाहरु र आममाफी कार्यक्रम मार्फत स्वदेश फर्किन सक्ने अनुमान गरिएको छ।