काठमाडौं । सहिद पिता डिल्लीप्रसाद दाहालको निधन भएको छ । ओखलढुंगा वरुणेश्वर रामपुर( हाल मोलुङ गाउँपालिका) का स्थायी निवासी ८९ वर्षीय दाहाल क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ केही समय यता उपचारकालागि काठमाडौं रहनु भएको थियो ।
उपचारका क्रममा शुक्रबार राति गंगालाल हृदय रोग उपचार केन्द्रमा उहाँको निधन भएको हो । उहाँका जेठा छोरा खगेन्द्रलाई २०३०÷०३१ सालमा नेपाली कांग्र्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलन क्रममा असोज १३ गते २०३१ मा जेल सार्ने निहुमा केन्द्रीय कारागारबाट नख्खुमा लगेर तत्कालीन सत्ताले कायरतापूर्ण हत्या गरेको थियो ।
खगेन्द्रसँगै रामपुरकै लीला दाहाल, ठगीराज दाहाल र गोकर्ण कार्कीको समेत हत्या भएको थियो । उनीहरूको त्यो कायरतापूर्ण हत्यापछि नेपाली कांग्र्रेसले ओखलढुंगाबाट सशस्त्र अभियान सुरु गरे पनि असफल हुनपुग्यो ।
स्वर्गीय दाहालका धर्मपत्नी हुनुहुन्छ भने छोरीहरू यन्जुसहित चार जना, फणीन्द्र र खिला गरी दुई छोरा छन् ।
उहाँको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । माहिला छोरा लोकतान्त्रिक आन्दोलनका युवा अभियन्ता फणीन्द्रले मुखाग्नि दिएका थिए । कान्छा छोरा खिला हाल अमेरिकामा रहेका हुनाले उपस्थित हुसकेनन् ।



















