सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने प्रधानमन्त्री ओली ज्यू ?

काठमाडौं:= देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात खोजी चलिरहेको छ । सिंगै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा. सुरेन्द्र यादवलाई खोज्नतिर लागे ।

कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ ‘राजनीतिक भाइरस’ले पोलेर डाक्टर खोज्नतिर लागेका हुन् । बुधबार बिहान ११ बजेतिर उनीहरुले समाजवादी पार्टीका सांसद डा. यादवलाई ट्रेसिङ गर्न उनीहरु सफल भए । सफल नहुन् पनि कसरी, पूर्वआइजी सर्वेन्द्र ‘खतरा कमाण्डर’ मानिन्थे प्रहरी संगठनमा हुँदा। रातारात उठाएर काठमाडौं ल्याइएका सांसद यादव भन्छन्, ‘हामीसँग पनि पीएसओ थियो । पीएसओबाट पनि लोकेसन ट्रेस भइहाल्छ । म यहाँ छैन भन्न पनि मिलेन । मेरो मोवाइल आफ्नै गाडीमा छुटेको थियो, घरमा खबर थिएन । म जनकपुरका लागि निस्केको थिएँ ।’

सर्वेन्द्र, महेश र किसानले आफूलाई काठमाडौं लैजाने गरी भेट्न आएको सांसद यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरबाटै जानकारी गराएका थिए । डा. यादव भन्छन्, ‘मैले यहाँ काठमाडौंमा आइसकेपछि बुझें कि यस्तो-यस्तो कुरा छ । उहाँहरुको त्यस्तो किडन्यापै गर्नेजस्तो त थिएन । तर, लकडाउनका बेलामा मेरो काठमाडौं आउने विचार थिएन ।’ प्रधानमन्त्रीकै नाम लिएर खनाल, बस्नेत र श्रेष्ठले समाजवादी पार्टी फुटाउने कार्यमा सक्रियता देखाएका थिए । र, त्यसैका लागि उनीहरुलाई थप एकजना सांसद चाहिएको थियो।

डा. यादव भन्छन्, ‘त्योबेलामा मलाई केही थाहा थिएन । बाटोमा आउँदा उहाँहरुले अहिलेको बेलामा सहयोग गर्नुपर्छ भनेर भन्नुभो । उहाँहरुले अध्यादेश त ल्याउनुभयो, अध्यादेशबारे जुन कुराहरु उठ्यो, त्यसबाट उहाँहरुले म्यानेज गर्न खोजेको मलाई आभास भयो ।’ यो राजनीतिक घटनामा केपी ओलीका दायाँ हात मानिने नेकपाका सांसदहरु संलग्न हुनु त आश्चर्यजनक होइन, तर पूर्वआइजीपी सर्वेन्द्र खनालकै संलग्नता चाहिँ आश्चर्यजनक हो । खनालले प्रधानमन्त्री ओलीलाई खुशी पार्नका लागि यस्तो अराजनीतिक धन्दामा संलग्नता देखाएको बुझ्न गाह्रो छैन ।

सांसद यादव भन्छन्, ‘एकचोटि प्रधानमन्त्रीजीले भेट्न चाहनुभएको छ भनेर भन्नुभएको थियो आइजीपी साहेबले । लकडाउनपछि आएर भेट्छु भन्ने सोचेको थिएँ । तर, उहाँहरु अचानक पुग्नुभयो । गाउँ नजिकमा आएर फोन गरेपछि हाम्रो संस्कारले त नआउनू भन्न मिल्दैन । काठमाडौं आउँदा मनसाय बुझेपछि म आफैं पनि पन्सिइहालें ।’ यो घटनाले प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रश्न उठाएको छ । राजनीतिमा ओली अपराधकर्मसमेत गर्न पछि पर्दैनन् भन्ने आशंका यो घटनाले जन्माएको छ । आफूसित सरोकारै नभएको अन्य दलको सांसदलाई लकडाउनक बेला घरमा फोन गर्न पनि नदिई नियन्त्रणमा लिने सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई अब मन्त्री बनाएर पुरस्कार दिने कि कारबाही गर्ने प्रधानमन्त्रीज्यू ?

अनि, राजनीतिको घीनलाग्दो खेलमा इमान्दार सिपाही भएर लागेवापत पूर्वआइजीपी सर्वेन्द्र खनाललाई पनि कुनै नियुक्तिको पुरस्कार पो दिने हो कि ? होइन भने, तीनैजनामाथि कानूनी कारबाहीको आवश्यकता देखिएको छ । यो घटना अपहरणकै शैलीमा भएको देखिन्छ । यदि ‘अपरहरण’ नै होइन भने पनि अरुको दल फुटाउनका लागि प्रधानमन्त्रीको निर्देशनमा गरिएको अपराध कर्मचाहिँ पक्कै हो । ‘प्रधानमन्त्रीले बोलाउनुभएको’ भन्दै रातारात काठमाडौं ल्याउनु र स्वयं प्रधानमन्त्रीले फोनमा भोलि बिहान बालुवाटारमा भेटौं भन्नुले यो घटनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता प्रष्ट हुन्छ ।(साभार:अनलाईन खबरबाट)