ढँटाईको ढोलक

‘सत्यं बू्रयात्प्रियं ब्रूयान्न ब्रूयात्सत्यंप्रियं, प्रियं च नानृतं ब्रूयादे स धर्मः सनातनः’  

सम्पूर्ण भाषाकी जननी संष्कृत भाषाको यो नीतिश्लोकले सत्य बोल,मिठो बोल,कठोर सत्यलाई ग्रहण गर,मिठो झुटलाई तिरस्कार गर भनेर सत्यम शिवम सुन्दरमको सत्यतालाई उजागर गरेको छ। विश्वमा मानिएका सबै धर्महरुले पनि ढँटाईलाई पाप मानेका छन्।      

इश्वरिय वरदान भनौं या श्राप,मुन्छेले कट्टु लगाउन नजान्दै देखी लिएर आर्यघाट जानु अघी सम्म केही न केही रुपमा ढाँटिरहेको हुन्छ।बच्चाले टाउको समात्दै भुडी दुख्यो भनी स्कुल जान आल्टाल गर्छ। क्याम्पसे केटी बाबुआमासँग परीक्षाको तयारीस्वरुप साथीकोमा सहअध्ययन गर्न जान्छु भनी बोइफ्रेन्डसँग सिनेमा हेर्न सुइँन्किन्छे। गँवार गृहिणीको जागिरे खसम “आज कार्यालयमा धेरै काम छ,घर आउन ढिलो हुन्छ” भनी कार्यालयबाट दिउँसै टाप कसी बाहरवालीसँग पार्कमा पौँठाजोरी गर्न लेपासिन्छ। दिनभरी रामराम साँझमा रम झ्वाम भने झैं नैतीक शिक्षा सिकाउने ठुस्स गनाउने ठर्राे ठिमाहा चरित्रका ठ्याङ्ला शिक्षक कक्षाकोठामा हुन्जेल ‘परस्त्री गमनम महापापम’ भनी फुइँ फलाक्छ तर भित्रभित्रै सुन्दर छात्रामाथी गिद्दे नजर गाडिरहेको हुन्छ। ‘मर्न आँटेको म बुढासँग के पो धन बाँकी बचेको छ र?’ भन्ने मख्खीचुस वृद्ध बाबुले आर्यघाट जाने बेला सम्म पनि छोराबुहारीलाई आफ्नो कन्दनी र सुरुवालको इँजारघरभित्र लुकाउँदा लुकाउँदा ढुसी परिसकेको रुपयाँपैसो पर सार्दैनन्। यदी तपाइँ थकाईले थलिएर,दर्दले दलिएर,जोशले जिल्लिएर,चिन्ताले च्यापिएर, ब्यथाले बहुलाएर,निराशाले न्याप्टिएर अथवा कुन्ठाले कठ्याँग्रिएर एकछिनको लागि आफ्ना सबै दुखहरु न्यौछावर गरी मनोरन्जन लिएर आफुलाई भुलाउन चाहनुहुन्छ भने ढाँटहरुले जनजीवनको रंगमंचमा बजाएको ढोलक सुन्नुहोस।सत्ययुगमा आपत आइलाग्दा एकमात्र बिपतहरक बुटी ॐ मन्त्रोच्चारण भए झैं कलीयुगमा ढँटाई ढोलक एउटा त्यस्तो सांगीतिक बाद्य हो जसको बेतालमा नचाइएपछी बहुरोगको निदान त्यत्तिकै हुन्छ। मर्तेलोकमा आनन्द र मज्जा लिने बिधीहरु स्याउँस्याउँ किरासरी बग्रेल्ती पाइन्छन् ।कसैले छादुन्जेल बिजुलीपानी पिएर मज्जा लिन्छन् भने कसैले पाधुन्जेल मामाको घोडा मेरो हंैं हैंं भने झैं उल्फाको धन अरुलाई लुटाएर अनि कसैले बेफ्वाँकमा खुच्चिङजन्य परपीडक हाँसेहाब्रो हाब्रेर मज्जा लिन्छन् भने कसैले देश सन्चालन निर्णयार्थ बेमौसमी बाजाको बेतालमा बुरुक्कै बुर्केर। जीवनमा मज्जा लिने तौर–तरिकाहरु आ–आफ्ना चाहनानुसार ब्यक्ती नै पिच्छे फरक फरक हुन्छन्।यो मज्जालोकमा स्वार्गानन्दिय खुशी लिने अवयवहरुको खडेरी पनि छैन अनि बलिया बाङ्गाको खुशीको लागि बलीको बोको बनिने अन्धवीर बुख्याँचाहरुको अभाव पनि छैन। यो भुलोकिय आनन्दसागरमा हरेक मनुस्यले ज्ञानकृतबस वा अनजानबस जीवनरेखाको प्रत्येक पलमा केही न केही रुपमा मज्जा र बेमज्जा ग्रहण गरिरहेका हुन्छन्। स्वास्नीलाई कौडीको भाउमा पनि नगन्ने जँड्याहा श्रीमानले निर्बल श्रीमतीलाई नशाको दम्भमा निहुँ बिनै कुटेर मर्दाङ्गीे अभिमानको मज्जा लिन्छ। खाडीको तातो घाममा पुर्पुरो पगालेर पठाएको पैसो स्वदेशमा श्रीमतीले नाठोलाई पोसाएर मज्जा लिन्छे। बनिबुतो गरेर कलेज पढ्न पठाएको छोरोले बाबुआमाको पसिना गर्लफ्रेन्ड र डिस्कोमा बगाएर मज्जा लिन्छ। मत्तुुलाई घ्याम्पेरस धोक्नमै मज्जा छ अनि नेतालाई भाषण खोक्नमै मज्जा छ चाहे पुगोस या नपुगोस। कार्यकर्तालाई नेताको पछी दगुर्नमै मज्जा छ अनि मन्त्रीलाई घुस घिच्नमै मज्जा छ। यहाँं भुत्रो लाग्छ कुर्र्सीडनलाई नैतीकता न कानुन? यहाँँको कानुन पशुपतिनाथले जानुन्। हाकिमलाई कारिन्दा कज्याउनमै मज्जा छ अनि कामचोर कारिन्दालाई दिउँसै हाजिर ठोकेर घरतिर टाप ठोक्नमैै मज्जा छ। कवी र संगीतकारलाई अरुको रचनालाई स्वसृजित कृतीको ढोल पिटी नामदाम कमाउनमै मज्जाा छ अनि नर्सिङ होमलाई मरिसकेको बिरामीलाई पनि जानी जानी भेन्टिलेटरमा राखी पैसा चुस्नमै मज्जा छ। शक्तीशालीहरुलाई शिक्षा, फोहोर र लाशमाथी राजनिती गर्नमै मज्जा छ अनि निर्धाहरुलाई तिनै कुख्यातहरुको झोला बोकेर चाकरी गर्नमै मज्जा छ। गाँठी कुरो के हो भने,सक्नेले डकारेर मस्ती गर्छन् र नसक्नेले लोपारिएर सास्ती खेप्छन्। यो मस्ती र सास्तीको बिचको मिलन गराइदिने लमी भनेकै ढँटाई हो। ढँटाईले मज्जा र बेमज्जाको बिचमा साँगुको काम गर्छ। यो मज्जालोकका बासिन्दाहरु जीवनरेखाको पल पलमा ढाँट्छन् र ढाँटिन्छन्।ढँटाई एउटा क्षणिक आनन्द दिने कला हो जसमा ढाँटकलाका कलाकारहरु पोल नखुलेन्जेल मरुन्जेल मस्ती गर्छन् अनि पोल खुलेको दिन कट्टुमा छेर्दैे त्यसको भर्पाई भर्छन् यदि तिनीहरु निम्सरा र नेतृत्व कुर्सिधारी झुटचातुर्यका अब्बल खेलाडीका लाचार शिकार छन् भने मात्र किनकी ढँटाई शाश्त्रानुसार यो कानुन ठुलाबडालाई लाग्दैन । रास्ट्रस्तरिय ढँटाईकलाका पारंगत कलाकारहरुले जनतालाई जती ढाँटे पनि तिनीहरुको जादुकलाले ढँटाईपीडित नागरिकहरु जती पिसिए पनि ती लबस्तरा कलाकारहरुलाई कसैले लछारपाटो लगाउन सक्दैनन् किनभने ढाँटलोकको संबिधानमा उनीहरुलाई ढाँटचटक गर्न अघोसित छुट दिइएको छ।       

चाहे हेप्याइँ होस् कि राजसी रजाइँ ,बल मिच्याइँ होस् कि घुस घिचाई यी सबै चटकहरुका जरो चाहिँ ढाँटतन्त्र नै हो भन्दा बिस्तुर नजाला। जे होस् ,ढाँटकर्मका आधारमा यसका कर्ताहरुलाई तीन भागमा बर्गिकरण गर्न सकिन्छ। निम्नबर्गिय ढाँट, मध्यबर्गिय ढाँट र उच्चबर्गिय ढाँट। निम्नबर्गिय ढाँटहरुलाई गाउँले ढाँट पनि भनिन्छ। निम्नबर्गिय ढाँटले गाउँमा ऐँचो–पैंचो,अर्म–पर्म र सानातिना मनोरन्जनको लागि ढाँट्ने कर्म गर्दछ जसको कारणले ढाँटको शिकारलाई खासै असर पर्दैन। खोर्साने कान्छाले खप्पर दुखेको बहानामा भिन्डी पर्सादको रोपाइँको दिनमा तिर्नै पर्ने पर्मको हलगोरु ल्याएन बरु उ ठुटेबर मेलामा पल्लाघरे पोकलीसँग पात्तिदै    खोयाबिर्के तुर्क्याएर फिटान भयो फलस्वरुप भिन्डी पर्सादको मैजारो अर्को हप्तालाई सर्यो। जन्तरे भुजेलले सालबोटे साहिंलोको गुजराती माउ भैँसी बेचेको पैसो महिनादिने भाकामा ऋण लिएको दुईटा हिउँद कटिसक्यो तर ऋण तिर्नुपर्छ भनेर जन्तरे कुलदेवताको भाकलस्वरुप मौनब्रत बसेको छ। पैसो माग्न जाँदा ढुङ्गो बोल्छ तर जन्तरे बोल्दैन। ढाँट शिरोमणी ढाकाराम ढकाललाई उनकै छिमेकी ढुंडिराम ढुंगानालाई ढाँट सहायक बनाएर बजारको चिया पसलमा दैनिक गफ नचुटी निद्रै लाग्दैन । ढाकारामले चिया पसलमा समकालिन साथीभाईलाई वरीपरी बसाएर निशुल्क चिया पिलाई बडो मज्जाले गफ चुट्छन्।बाइस सालमा एकपल्ट ढाकारामको घुरेनमा बाइस फिट लामो मुला फलेको थियो रे। उनले त्यो मुलालाई सात जना भुसतिघ्रेको सहायतामा उखेलेर सिन्की बनाएर जिल्लाभरी बाँडे रे। त्यो मुला उखेलिएको खाल्टोमा एउटा बाईस फिट गहिरो इनार आफैँ बन्यो रे। “हो त,हामी गाउँलेहरु अहिले सम्म त्यही इनारको पानी खान्छांैं। त्यो इनारको पानी साह्रै मिठो छ गाँठे!” घरी घरी गफको बिचमा ढुंडिरामले ढाकारामको कुरामा सही थाप्छन् । नथापुन पनि किन? पहाडमा जेठी महतारी हुँदा हुँदै मधेस झरेपछी अबिवाहित छु भनी ढाँटेर कान्छी भित्र्याएकोे कुरोको राज पहाडका छिमेकी ढाकारामलाई मात्रै थाहा थियो। चिया पसलमा ढाकारामको गफ पत्याएर त हैन फोकटमा चिया पिउन पाइने अनि निशुल्क मनोरन्जन पनि लिन पाइने हुनाले मान्छेहरु उनको वरीपरी झुम्मिन्छन्। यस्ता तीतामिठा निम्नवर्गिय ढाँट र ढँटाईहरु गाउँघरतिर छ्यास्छ्यास्ती देख्न र सुन्न पाईन्छन्। 

प्रायशः मध्यवर्गिय यानी प्रादेशिक ढाँटहरु शहरबजारतिर डेरा जमाएर बसेका हुन्छन्। ब्यापारी, कर्मचारी, ठुट्टे नेता यानी नेताका चम्चा, नाम मात्रैको आयात–निर्यात कम्पनी खोलेर बसेका तस्कर जस्ता वर्गहरु मध्यवर्गिय ढाँटको दायराभित्र दरिन्छन्। बैंकबाट ऋण लिएर समयावधिमा किस्ता बुझाउनु पर्ने साइतमा उनीहरुसँग बैंकले सम्पर्क गर्नुपर्दा मान्छे पनि अलप र मोबाइल पनि स्विच अफ गर्ने र बेसारमा ईटाको धुलो,चामलमा कंंकड,महमा चिनीको चास्नी,नौनी घिउमा केरा मिलावट गरेर खुल्लेआम ढाँटी–ढाँटी नाफा आर्जन गर्न पल्केका लबस्तरा ब्यापारीहरु शहरबजारतिर नखोजे पनि भेटिन्छन्।कानुन कायदा मिले पनि “तपाईंको काम आज हुन्न बेहोरा मिलाएर भोली आउनुहोस्” भनी टोपली चिया खाने पैसोको लागि सेवाग्रहीलाई जुके चुसाई गर्न पल्केका राष्ट्रसेवक भनाउँदा कर्मचारीहरु कार्यालयतिर बर्खे च्याउसरी भेटिन्छन्। नेताको आडमा ठेक्कापट्टा,जागिर,बैदेशिक रोजगारी मिलाइदिन जनताबाट पैसो हसुर्न पल्केका सुरा–सुन्दरीभक्त पार्टी कार्यकर्ता भनाउँदा नेताका चम्चाहरुको पनि मुलुकमा सहकाल यिनै आँखाहरुले देख्न सकिन्छ। हात्तीको देखाउने दारा एउटा चपाउने अर्को भने झैं ऊन आयात निर्यात गर्ने इजाजत प्राप्त कम्पनी खोली माथिका तथास्तुदायक भागेदारहरुलाई प्रतिसतको नैबेध चढाई भित्र भित्रै सुन तस्कर गर्ने देश ढँटुवाहरु नखोजे पनि यो मज्जालोकमा सित्तै पाइन्छन्।                               

उपल्लो बर्गिय ढाँटहरु त झन देशका प्रमुख कुर्सीहरु पाध्दै खुल्लेआम ढँटाईको बेसुर ढोलक ढ्याङ्ढ्याङ् पार्दै ढुक्कसँग ढेवाधारीहरुको ढाड ढुट्टिउन्जेल मनोरन्जन प्रदान गर्छन्।यी धुर्तहरु सम्भव–असम्भव, अन्ट–सन्ट जे पनि बक्छन् र यिनिहरुलाई आफु के बोल्दैछु भन्ने हेक्कै हुँदैन।यिनिहरुका चटके शैलीका ढोलकवादन कर्र्णिप्रय झैं नै लाग्छन् र आर्तनादले अत्तालिएका आशे आसमरीहरु यीनिहरुका ढ्याङ«्रे ढँटाई ढोलकका तालमा बिणाको धुनमा सर्प लठ्ठिए झैं लठ्ठिन्छन्।अतः ढाँट ढोलकिय धरातलमा देशका लगाम समात्ने घोडसवार,ठाउँँको ठाउँँ ठक्कर ठोक्ने क वर्गिय ठग ठेकेदार,नेताका पुच्छर समाती बैतर्नी तर्न खोज्ने केन्द्रिय कार्यकर्ता,तिलस्मी सुरक्षाकमी, वकालती वकिल नामक कालाज्वर कानुनकर्मी जस्ता मदहोस मनुवाहरुले उपल्लो वर्गिय ढाँटक्षेत्र बुढो गोरुले कोरली ओगटे झैं ओगट्छन्। लगामे घोडसवारहरु त लिगलिगे ढँटाई प्रतियोगिताका सर्वश्रेष्ठ दौडाक नै दरिन्छन्।यिनीहरुले त पतालदेखी आकाशसम्मको पुल बनाउने देखी लिएर हावामा महल बनाउने सम्मको उखानटुक्का जडित उडन्ते परियोजना पेश गरेर ज्वोरो आउँदा पनि धामीलाई कालो कुखुरो चढाउनु पर्ने वाध्यकारी घन्चक्कर जनताको आशामरु वाहीवाही लुट्ने ल्यागत लल्कार्छन्।टेन्डरमा मुन्द्रेबल र नजराना नैबेध चढाएर हात पारेको अवसरलाई सदुपयोग गर्दै असारमा बालुवामाथी अलकत्र छर्किएर बनाएको ठेट्ने ठेकेदारी बाटो भदौ नलाग्दै खाल्टो पर्छ। ठेकेदारी महात्मयको मुल मन्त्र नै ‘कामसाम तैं जान,आधा ठेक्के रकम मुखमा हाम’ हो।यो मुलुकमा झारो टारेर राष्ट्र ढाँट्ने ठ्याङ्ला ठेकेदारहरुकै बोलबाला छ,किन नहोस पनि राष्ट्र चलाउने ठेकेदारहरुकै चेला न परे यिनीहरु । केन्द्रमा बसेका पार्टी कार्यकर्ताको फोहोरी फुइँको त कुरै नगरौँ। माथीका भरोसादायक प्रभुका तथास्तु पाएका यिनीहरुले बैदेशिक रोजगारी र  बैदेशिक अध्ययनका कोटा मिलाइदिने, ठुला ठुला टेन्डर पारिदिने, भनसुनको भरमा जागिर लगाइदिने, पैसा फल्ने रुखरुपी ब्यवसायको अनुमती मिलाइदिने जस्ता पुण्य काम गर्छन्। असफलहरु पर्साद चढाई चढाई आल्मलिरहन्छन् र सफल भक्तबाट तिनिहरुले ती पुण्यकर्म बापत मोटो प्रशाद गमरक्याउँछन् । तिलस्मी सुरक्षाकर्मीको जादुई कलाको त कुरै नगरौँ। तस्करबाट समातिएर राज्यकोशमा दाखिला गर्नु पर्ने सुन तेत्तिस मिनटभित्रै पित्तल पार्न सक्ने तिलस्मीहरुको जय होस।ख कालोलाई भ्रम र भेटीले सेतो बनाउन सक्ने कुटिल कानुनकर्मीहरु पनि उच्च ढाँटको सुचीमा सुचिकृत हुन्छन्। प्रतिवादीले मोटो भेटी नजराना चढायो भने प्रत्यक्षदर्सीको अभावमा ठोस प्रमाण पुगेन भन्दै करणी कर्मबाट दोजिया भएकी वादी महिलालाई मानहानीको मुद्दामा उल्टै थुनाउन सक्ने वीर वकिलहरु पनि ढाँट सम्राज्यका तेस्रा अभिन्न अंग हुन् ।                     

ढाँट्नु जघन्य अपराध हो। भ्रस्टचार,चोरी,ब्याभिचार,धोकाधडी जस्ता कुकर्महरु ढँटाईकै कुटुम्बहरु हुन्।एउटा हिन्दी गीतको अन्तरा ‘मिठी छुरीसे हुवा हलाल’ भने झैँ चिप्लो बोलेर अरुको गला काट्नु,प्रेमको नाटक मन्चन गरेर अरुको जीवन बर्बाद गर्नु ढँटाईजन्य अपराधका उदाहरणहरु हुन्। सत्यको सधैं जित हुन्छ र ढँटाईकर्मी ढाँटको एकदिन अवस्य हार हुन्छ। परपीडा दिई ढाँटेर बिजयी भएँ भनेर भुइँ न भाडामा भएर गजक्क पर्ने ढँटुवाको नाम सुनौलो अक्षरले होइन मानव बिस्टाको पित्ताक्षरले ताम्र होइन दण्डपत्रमा लेखिनुपर्छ।     

 सत्यमेव जयते

इती