काठमाडौं := नेपाल सरकारले जारी लकडाउनको अवधी आज बालुवाटारमा बसेको बैठकले १२ दिन थपेर बैशाख १५ गतेसम्मको लागि लम्ब्याएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो । उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि भोलि बुधबार सकिने थियो ।
तर सो अवधि समाप्त नहुँदै आजको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर अवधि लम्ब्याएको हो । अब जारी लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।
जारी लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने बारे बालुवाटारमा छलफल भएको थियो । मुलुकमा कोरोना संक्रमणका नयाँ केसहरू बढ्न थालेपछि सरकारले केही दिन कडाइ गर्दै लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताउनुभएको थियो । यसको संकेत लकडाउन थपिने भन्ने नै थियो, जुन जतनालाइ दुःख दिनका लागि नभएर संक्रमणबाट जोगाउनका लागि भन्ने प्रधानमन्त्रीले बताउनुभएको थियो ।
नेपालमा अहिलेसम्म १६ जना कोरोना संक्रमित भेटिएको छ्न जसमध्ये १ जना उपचार सकिएर निको भएको छ।



















