युएईमा कार्तरत एक नेपाली महिलाको कोरोना संक्रमणबाट मृत्यु।

यूएई ( दुबई ) मा कोरोना भाइरस (काेभिड–१९) को संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । यूएईको बरदुबईमा १० बर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत देवदह-६ बुटवल,रुपन्देहीकी ४० बर्षिय एक नेपाली महिलाको निधन भएको मृतकको आफन्तले बताए ।

‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमानलाई उपलब्ध गराएको थियो।रिपोर्टमा उनको मृत्यु गत शुक्रबार भएको पुष्टि गरिएको जनाइएको छ ।
पछिल्लो समयमा उनी बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै थिइन्। उनका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा यूएईमा रहेको बताइएको छ।