‘संगीतमा अध्ययन जरुरी छ’

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा दिनहुँ नयाँ प्रतिभाको आगमन भइरहेको छ । कतिले संगीत आफ्नो लक्ष्य लिएर अगाडि बढेका छन् त कतिले रहरको रूपमा पनि आइरहेका छन् । संगीतमा राम्ररी अध्ययन चिन्तन गर्नेले सफलता पाएका छन् भने रहर गर्नेहरू छिनभरमै हराएका पनि छन् । 

यसैबीच गीतसंगीतमा केही गर्छु भनी विगत एक दशकदेखि लागिरहेका सुरज पौडेल अझै पनि संघर्ष गरिरहेका छन् । विराटनगर, बरगाछीका सुरजले सानैदेखि सुगम संगीत मन पराउँथे । संगीतमा निकै रुचि भएकैले उनलाई गायक बन्ने लक्ष्य लिएर अघि बढे । रेडियोमा गीत बज्दा पनि सँगसँगै गुनगुनाउने बानिले आज गायक बनाएको उनी बताउँछन् । ‘संगीतको नशा गज्जबको हुँदो रहेछ, सानैदेखिको रहर नै लक्ष्य बनिदियो । आज पनि सफलताका लागी संघर्ष गरिरहेको छु’, सुरजले भने, ‘संगीतमा यसै होमिएर पनि हुँदैन, इच्छाशक्तिसँगै अध्ययन जरुरी छ ।’

सुरजले संगीतकार विकास चौधरीसँग तीनवर्ष संगीत सिके, आफू निखारिए र गीत निकाल्न कोसिस गरे । उनले आफ्नो पहिलो एल्बमको रूपमा ‘मनको खुशी’ सार्वजनिक गरे । उक्त एल्बममा पाँच गीत समावेश छन् । उनको पहिलो एल्बमले गायक भनेर केही हदसम्म उनलाई चिनायो तर पूर्ण सफलता भने दिलाउन सकेन् । सुरज पहिलो एल्बमबाट खुशी नै रहे । दर्शक तथा स्रोताको केही माया पाएसँगै थप काम गर्ने उर्जा मिलेको बताउँछन् । उनी भन्छन् ‘पहिलो गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले थप ऊर्जा मिल्यो र अन्य काम गर्न मद्धत पुग्यो ।’ उनले गीतसगीतमा विस्तारै सफलता पाउन थालेसँगै सांगीतिक प्रस्तुतिका लागि विभिन्न स्टेजमा पुग्न थाले । 

पहिलोपटक रौतहट जिल्लाको सन्तपुरमा भएको महोत्सवमा पुग्दाको क्षण सुरजले सम्झिँदै भन्छन् ‘पहिलोपटक स्टेज चढ्दा केही नर्भस त पक्कै हुन्छ तर दर्शकलाई मनोरञ्जन दिलाउन सक्छु भन्ने ढुक्क पन थियो’, सुरजले भने । 

उनले पछि ‘सान्नानी द रिदम एण्ड द रिभोलुसन’ एल्वम निकाले । जसबाट संगीत क्षेत्रलाई अझ धेरै बुझ्ने मौका पाएको बताउँछन् । ‘काम गर्दै जाँदा धेरै कुरा सिक्ने मौका मिल्यो । संगीतमा जति धेरै सिक्यो त्यति नै सफलता मिल्ने भएकाले अझै पनि सिकिरहेको छु ।’ उनी भन्छन्, ‘हरेक समय संगीतमै लगाएको भएर होला, अहिले जुनसुकै समय संगीतका लागि बिताउने गरेको छु ।’

उनले पछिल्लो समयको डिजिटल बजारले पनि गीतसंगीतको प्रचारलाई थप सजिलो बनाइदिएको बताउँछन् । ‘अहिले केही वर्षयता सामाजिक सञ्जाल तथा अन्य डिजिटल बजारले गीतसंगीतको प्रचारपसारमा थप सहज बनाइदिएको छ । राम्रा गीतले बजार नपाउँनुको समस्या दशकअघिका स्रष्टाले भोगेका थिए तर अहिले त्यो समय रहेन’, सुरज भन्छन् । ‘तर डिजिटल बजारमा राम्रा गीत त हिट हुन्छन् नै छिनभरको हिट भ्युवर्स कमाउन आएका गीतसंगीतले पनि चर्चा पाएको देख्छु, त्यो दुःख लाग्छ ।’

सुरजले अब छिट्टै नै नयाँ गीत बजारमा ल्याउने बताए । अहिले तयारी भइरहेको उनी बताउँछन् । बजारमा दर्शक स्रोताको रुचि कुन प्रकारको गीतमा छ त्यो किसिमको गीत ल्याउने तयारी भइरहेको उनले बताए ।