दाहाल सल्लाहकार सम्पादक नियुक्त

काठमाडौं । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल हिमालय टाइम्स राष्ट्रिय दैनिकको सल्लाहकार सम्पादकमा नियुक्त भएका छन् । चार दशकभन्दा लामो पत्रकारिताको अनुभव सँगालेका दाहालले नेपाल टाइम्सबाट २०३४ सालमा पत्रकारिता सुरु गरेका हुन् । त्यसपछि चेतना, राष्ट्रपुकार लगायतका पत्रिकामा सक्रिय रूपमा अभियान पत्रकारिता गरेका दाहालले नेपालवाणी साप्ताहिक तथा राजधानी दैनिकका सम्पादकका रूपमा समेत काम गरेका थिए । रेडियो नेपालबाट प्रशारित लोकप्रिय कार्यक्रम ‘घटना र विचार’ का कार्यक्रम संयोजक तथा सञ्चालक दाहाल राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा महाप्रबन्धकसमेत भएका थिए । दाहालले च्यानल नेपालमा कार्यक्रम संयोजक भएर पनि काम गरेका थिए ।

‘तुमुल’ साहित्यिक पत्रिका सम्पादन गरेका दाहालले ‘सगरमाथा वाङ्मय’ को समेत सम्पादन गरेका थिए । दाहालका ‘केही कवि केही कविता’, (संयुक्त कविता संग्रह),  ‘साँध’ (कविता संग्रह), ‘प्रक्षेपण’ (निबन्ध संग्रह), ‘मानव अधिकार ः लोकतन्त्र र अहिंसाको आधार’ (सहलेखन), ‘शान्ता’ उपन्यास, ‘अन्धकारको यात्री’ (कविता संग्रह), ‘मेरो पत्रकारिता’, (चार दशकको पत्रकारिताको अनुभव) र ‘शिखरवृत्त’ (कथा संग्रह ) प्रकाशित छन् । प्रसिद्ध मानव अधिकारकर्मी दाहाल लामो समयदेखि पत्रकारिता पेसामा आबद्ध रहँदै आएका छन् ।