तिम्रो मुटु धड्किन्छ कि धड्किँदैन ? जुन मुटुले फेर्ने सासले मेरो आस जगाएको थियो । आज त्यो मुटुको चाल कस्तो छ ? कता, कुन गतिमा दौड्दैछ, तिम्रो रगत ? कुन प्रगतिमा रमाएको छ, तिम्रो वर्तमान ? सायद मेरै भुल हो कि तिम्रो कसम, जसका लागि मैले जगाएको आशा मरेछ । यति छिट्टै यसरी आशाको दियो निभ्ला भन्ने मैले कल्पनासम्म गरेकी थिइनँ । किन यस्तो सोच्यौ ? कसरी यस्तो ग-यांै ?
‘फर्गेट मि तिम्रो मुटु छैन ’
अचानक यस्तो भावुक शब्दावलीको सामना गर्नुपर्दा रुन मन लाग्नु स्वाभाविकै हो । तर, उसलाई थाहा थियो । रोएरमात्र समस्याको समाधान हुुनेवाला छैन । रुने त कमजोरले हो । बलियो र बाङ्गोले त सामना गर्ने हो । सामना गर्ने हो समस्याको र समाधान गर्ने हो कठिनाइको । समस्या र कठिनाइबाट भाग्ने त कायर हुन्छ, काँतरमात्र पुच्छर फर्काएर भाग्छन् ।
फेरि पनि मुटु नभएको आरोप खेप्नु पर्दाको पीडा त छँदैछ । ऊ पीडाबोध गरिरहेको छ मुटु नहुनुको । आफ्नै धड्कनमाथि, आफ्नै प्रिय मुटुमाथि नभएको आरोप खेपिरहँदा पनि विश्वास छैन ।
सीमाको त्यो मन पलाल्ने त्यो शब्द के हो त ? उसको त्यो मुटु नै छुने शब्द कस्तो हो ? के साँच्चै मेरो मुटु छैन ? ऊ सोच्न बाध्य छ ।
मुटु हुँदा र नहुँदाको अन्तर केलाउन थाल्दा उसले खासै अन्तर त पाएन । तर, शब्दरूपी वाणको सामना गर्न भने नसक्दा उसलाई लाग्दैछ साँच्चै उसले भनेजस्तो मेरो मुटु छैन कि क्याहो भन्ने । यसो छातीको देब्रे पाटो छामेर हे-यो उसले । निक्कैबेर त्यहाँ हात राखिरहृयो । ढक्… ढक््… आवाज सुनियो । अनिमात्र विश्वास लाग्यो उसलाई । होइन, मेरो मुटु नै त नभएको कहाँ हो रहेछ र ?
मनको शान्ति न हो । विश्वास न हो । मन र मस्तिष्क बीचको अन्तरले मान्छेलाई अल्मल्याउँदो रहेछ । मनले सोच्छ, त्यसपछि बल्ल मस्तिष्कले अह्राउँछ । अनि शरीरले काम गर्छ । शरीरका अंगप्रत्यंगहरू, जो आफैं काम गर्न सक्दैनन् । उनीहरूलाई अह्राउनु पर्छ । मेरो मुटुले पनि आफैं काम गर्न नसकेर पो हो कि उसले त्यसो भनेकी !
सायद उसको मनको तरंगले छुन नसकेर हो या तनको रंगले धुन नकसेर हो । आज जसरी अर्जुनको जस्तो तीखो शब्दको बाँणले त्यही मुटुमा लाग्यो । त्यसपछि उसको मुटु अलिक छिटोछिटो धड्किँदै छ । त्यतिबेला मात्र उसले महसुस ग-यो । साँच्चै मुटुमा कुनै गम्भीर चोट लागेको छ या मनमा खोट । मुटुमा लागेको चोटले असैहृय पीडा हुँदो रहेछ । बरू तनमा लागेको चोट चोट नै होइन । तनमा लागेको चोट त एउटा सामान्य एमबिबिएस डाक्टरले नै चट् पार्न सक्छ ।
मनमा लागेको खोट बरू पखाल्न सकिएला । तर, मुटुमा लागेको चोट त न सर्जनले निको पार्न सक्छ न वैद्यले । किनकि मुटु त यति संवेदनशील हुँदो रहेछ । यति कोमल हुँदो रहेछ । हुन त मुटु नभए को पो बाँच्ला र ? मुटु नै नभएकासँग सवेदना हुँदैन । मसँग त संवेदना छ । वेदना छ ।
प्रिय सीमा,
मुटु नभएको आरोप लागेको रात म निदाउँन सकिनँ । सुत्न सकिनँ, थाहा छ ? तिमी त निदायौ नै होला । मनको शान्ति नै सही कमसेकम तिमीले एउटा शब्दबाँण त मतिर फ्याक्यौ । तिम्रो मनले कल्पेको त्यो शब्दले मेरो मुटुमै ठ्याक्कै लाग्यो । ठीक ठाउँमा प्रहार ग¥यौ, तिमीले । हो, दुश्मनलाई यसरी नै हो हान्ने । मर्नेगरी ।
त्यही शब्दबाँणले लागेर म सुनको मृगझैं ढलेको छु । एउटा भोको शिकारीझैं तिमी मेरो वरिपरि घुमिरहेको जस्तो अल्प सपना देख्दैछु । आँखामा मन्द विषजस्तै निद्रा घोलिएको बेला झिरझिर यस्तै दृश्य देख्दैछु । हातमा अरू धेरै बाँण बोकेर पनि मेरो मुटुमा लागेर रगतै रगतले लत्पतिएको एउटा बाँण झिक्ने कोसिस गरिरहेको एउटा क्रूर शिकारीको पञ्जामा म परेको दृश्य मेरा आँखामा नाँचिरहेका छन् । एउटा ब्याधाले जसरी मृग मारेर खाने योजना बनाउँछ, त्यसरी नै मेरो मुटुमा लागेको त्यो बाँणले तिम्रो पनि योजना पक्कै पूरा नै भयो होला ।
किनभने म शिकारी होइन, जसले तिम्रो कोमलता आत्मसात गर्न सकेन । तिम्रो तन अँगाल्न सकेन । म शिकारी होइन तिम्रो शरीरमाथि अधिकार जमाउन चाहने । म ब्यभिचारी होइन, कुनै कुचक्र गर्न मनले मानेन । तिमीलाई दुश्चक्रमा फसाउँन चाहेन, म त्यो शिकारी पक्कै होइन ।
के मेरो दोश यही हो ?
हो, आज मेरो मुटु छैन, तिमीले भनेजस्तो । तिम्रो प्रहारले मेरो मुटु छियाछिया परेको छ । खिया परेको छ, मेरो मुटु । बरू यतिबेला तिम्रो मुटुले शान्ति महसुस गरिरहेको होला । मनले पनि त्यस्तै सोच्दै होला । तनमा आरामै होला । तर, यो कुरा बुझिराख मुटु हुनु र नहुनुका बीचमा धेरै असमानता हुन्छन् । जतिबेला रगतले आफ्नो चाललाई सही ढंगले चाल्छ, त्यतिबेलासम्म त ठीकै हो, मजा आउँछ । जब रगतले आफ्नो चाल बदल्छ, जब ब्लडप्रेसरले सताउँछ, त्यतिबेला शरीरले आराम पाउँदैन । त्यतिबेला न मन शान्त हुन्छ, न तन शान्त ।
हो, त्यतिबेला तिम्रो पनि मुटु दुःख्न सक्छ । हो, त्यतिबेला तिम्रो मुटु पनि सुक्न सक्छ । हो, त्यति नै बेर तिम्रो पनि मुटु नहुन सक्छ । के त्यतिखेर म तिमीलाई त्यसो भन्न सक्छु होला र ?
जसरी तिमीले एकै झोकमा भन्यौ ।
‘फर्गेट मी ‘तिम्रो मुटु छैन ।’
(बिर्तामोड, झापा)



















