काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसका संक्रमण देखिएसँगै नेपालमा पनि उच्च सकर्तकता अपनाइएको छ । नेपाली कलाक्षेत्रमा पनि यसको प्रभाव ठूलो परेको छ । चलचित्र हलमा दर्शकको संख्या हृवात्तै घटेको छ भने चलचित्र प्रदर्शन पनि रोकिन थालेका छन् ।
यसअघि केही नेपाली चलचित्र प्रदर्शन स्थगित भइसकेका थिए भने फेरि पनि आउँदो चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नीरफूल’को पनि प्रदर्शन स्थगित भएको । चलचित्रका निर्देशक फूलमान बलले विश्वव्यापी रुपमा संक्रमण बढ्दै गइरहेको कोरोना भाइरसको त्रास र सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आहृवान गरिरहेको बेला सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गरिएको जानकारी दिए । यो चलचित्र फागुन ३० मा प्रदर्शन गर्ने भनिएको थियो त्यसपछि चैत ७ मा पुगेको थियो भने अहिलेको अवस्था स्थिर नभएसम्म अर्को प्रदर्शन मिति नतोकिने बताइएको छ । ‘यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जनभन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ निर्देशक वलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



















