सिक्किम जाँदै हजार जुनीसम्म

काठमाडौं । गत साउनमा नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’ सिक्किमलगायत विभिन्न ठाउँमा प्रदर्शन गरिने भएको छ । प्रेमकथामा आधारित सो चलचित्र आउँदो मार्च १३ बाट सिलीगुरीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजा मल, कार्निभलमा प्रदर्शन हुँदैछ । 

यसैगरी दार्जिलिङको इनोक्स रिङ मल, कुर्सियोङको फान्टासिया, कालिम्पुङको ड्रिम थियटर, सिक्किमको पनि ड्रिम थियटर, गान्तोकको डेन्जोङ हल र नाम्चीको इपेरियल टाकिजमालगायतका हलमा फिल्म प्रदर्शन हुँदैछ । विकासराज आचार्य निर्देशित ‘हजार जुनीसम्म’ निर्माण टिमले दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुरीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरी फिल्म हेर्न आग्रहसमेत गरिन् । आर्यनले पनि फिल्म स परिवारले सँगै हेर्न मिल्ने रहेको बताए । 

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुइँटेल, शिवहरी पौडेललगायत कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन् ।