‘चस्माले मेरो उमेर लुकाउँछ’

मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले समयसमयमा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग अन्तक्र्रिया गर्छन् । यतिमात्र होइन उनले आफ्नो फ्यानलाई घरमै पनि प्रत्यक्ष भेट्ने समय दिन्छन् । उनले महिनामा एकपटक आफ्नो निवासअघि फ्यानसँग भेट्ने गर्छन् ।

हालै उनी आफ्नो इन्ष्टाग्राम पोष्टका कारण चर्चामा छन् । उनले इन्ष्टाग्राम अकाउण्टमा चस्मा लगाएको तस्वीर शेयर गर्दै क्याप्सनमा ‘चस्माको फेसन कसले बनायो’ भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘यो चस्माको फेसन कसले बनायो ? तर जसले बनायो सही बनायो । किनभने, चस्माको पछाडि मेरो उमेर लुक्छ र आँखाअगाडि भएको गडबडीलाई पनि चस्माले छेक्छ ।’

त्यसो त अमिताभको उक्त पोष्टमा उनका फ्यानहरूले रमाइला कमेण्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘कोही कसरी यति धेरै सुन्दर हुन सक्छ ।’ अर्का फ्यान लेख्छन् ‘सर तपाईं सदाबहार हुनुहुन्छ ।’ त्यस्तै अर्का फ्यानले उनलाई ‘बिन्दास बच्चन’ भन्दै कमेण्टमा लेखेका छन् ।

अमिताभले अहिले पनि समय मिलाएर चलचित्रमा काम गर्ने गरेका छन् । चलचित्रबाट ब्रेक लिने हल्ला चलिरहे पनि उनले केही विशेष भूमिका भएका चलचित्रमा काम गर्ने गरेका छन् ।