काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गएको सात महिनामा ३ लाखभन्दा धेरै सवारी चालकलाई कारबाही गरेको छ ।
महाशाखाले आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा ३ लाख ९ हजार ९७० सवारी चालकलाई कारबाही गरेको हो । ट्राफिक चेतनाको कार्यक्रम काठमाडौं उपत्यकाभित्रै बढी हुने भए पनि नियम पालना नगर्नेहरू पनि उपत्यकामै धेरै रहेको महाशाखाको भनाइ छ ।
सडक दुर्घटनाको मुख्य कारण खराब सडकमात्र नभएर चालकको लापरबाही उत्तिकै हुने गरेको उपत्यकाको सवारी दुर्घटनाले देखाउँछ । चालकले नियम उल्लंघन गर्दा भएको कारबाहीमा सात महिनामा जरिवानावापत १९ करोड ७९ लाख ८८ हजार रुपैयाँ संकलन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालका अनुसार सवारी नियम पालनामा चालक र पैदल यात्रु सचेत गराउनै कठिन भएको छ ।
महाशाखाका अनुसार गत साउनयताका सात महिनामा लेन अनुशासन पालना नगर्ने २ हजारभन्दा धेरै महिला र २५ हजारभन्दा धेरै पुरुष चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमध्ये झण्डै २२ हजार पुरुष, २४० जना महिला र सवारी पर्किङको नियम पालना नगर्ने भण्डै ३३ हजार चालक कारबाहीमा परेका छन् । बढी भाडा लिने साढे ६ हजारभन्दा बढी सार्वजनिक सवारीसाधान कारबाहीमा परेका छन् ।
मिटरमा जान नमान्ने, मिटर बिगार्ने र भाडामा अनियमितता गर्ने ट्याक्सी चालक पनि कारबाहीमा परेका छन् । गत सात महिनामा निषेधित ठाउँमा हर्न बजाउने साढे १२ हजारभन्दा बढी, तीव्र गतिमा सवारी चलाउने १२ सयभन्दा बढी, जेब्राक्रसको नियम उल्लंघन गर्ने ६ हजारभन्दा बढी, तीव्र गतिमा चलाउने २३ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै, मापदण्डभन्दा बढी धुवा निकाल्ने १३३ गाडी र सिटभन्दा बढी यात्रु बोक्ने करिब ८ सय ट्याम्पो कारबाहीमा परेका छन् । यस अवधिमा सिसीटिभी दृश्यको सहायताले ५७८० र ट्राफिक कम्युनिकेशन एपको सहायताले ५ सयभन्दा धेरै चालकलाई कारबाही गरिएको छ ।
महाशाखाले विभिन्न ठाउँमा राखिएका सिसीटिभी दृश्यका आधारमा चालकलाई कारबाही गर्न सजिलो भएको छ । नियम उल्लंघन गर्नेलाई स्थान र समय जानकारी दिएर घरमै पत्र पठाएर र फोन गरेर बोलाउने गरिएको छ । उपत्यकाको ट्राफिक अवस्था जटिल बन्दै गएको प्रहरी वरिष्ठ उपरीक्षक ढकाल बताउँछन् । बढ्दो जनसंख्या, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, साँघुरा सडक, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी ज्ञानको कमीले व्यवस्थापन कठिन रहेको महाशाखाको भनाइ छ ।
काठमाडौं उपत्यकाको शहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार कम हुनु र सार्वजनिक यातायात क्षेत्रमा व्याप्त अस्वस्थ प्रतिस्पर्धाका कारणले सडक दुर्घटना बढ्दो क्रममा छ ।




















