महासंघमा चुनावी सरगर्मी, ढकालद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षमै आगामी साधारणसभा केन्द्रित हुने देखिएको छ । विधानअनुसार आगामी चैतमा हुने साधारण सभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्नेछन् । 

वरिष्ठ उपाध्यक्षका लागि पछिल्लोपटक महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आफ्नो उमेदवारी घोषणा गरेका छन् । यसअघि महासंघकै अर्का उपाध्यक्ष किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ढकालले समृद्धिको आधार, राज्य–निजी क्षेत्र साझेदार भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले आफूले सबै उद्योगी व्यवसायी साथीको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योग क्षेत्रको कर घाटाउन भूमिका खेल्ने बताएका छन् । कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको संवाहक बन्नु भन्दै उनले सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता गरेका हुन् । उनले भने, ‘तपाईंहरूको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईंहरूको सुखदुःखमा साथमा रहने प्रण गर्छु ।’ सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा समृद्धि ल्याउन सहयोग पुग्ने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । 

निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमा काँध मिलाए अघि बढ्ने पनि उनले बताए । उनले भने, ‘महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार सरकार र उद्यमीको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ, जिल्ला, नगर तथा वस्तुगत उद्योग वाणिज्य संघलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हुनेछ ।’ महासंघको भावी अध्यक्षका रूपमा महासंघले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाएको भन्दै उनले गोल्छाको नेतृत्वमा एउटा व्यावसायिक र गतिशील टिम बन्ने बताए । 

ढकालले सरकार निजी क्षेत्रमैत्री भए पनि सरकारी संयन्त्र परम्परागत झन्झटपूर्ण रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने, करका समस्या समाधान गर्नुपर्ने, साना व्यवसायीको हितलाईसमेत केन्द्रमा राखेर महासंघले काम गर्नुपर्ने, मुलुकको आर्थिक विकास र विदेशी लगानी प्रवद्र्धनका लागि ठूला व्यवसायीलाई पनि प्रोत्साहन गर्नुपर्ने, औद्योगिकीकरणका लागि राज्यले पूर्वाधार विकास, विद्युतीकरण, जग्गाको उपलब्धतामा हुने समस्या समाधान गर्नुपर्नेलगायतका एजेण्डा अघि सारेका छन् ।

सबैको आग्रहअनुसार नै आफू महासंघको नेतृत्व तहमा आफू आउन चाहेको दाबी गर्दै उनले भने, ‘गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरूले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभयो, ती तपाईंका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै आज म महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु ।’

बागलुङको अमलाचौरमा विस. २०२२ मा जन्मिएका ढकाल हाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति हुन् । उनी महासंघमा यसअघि दुई कार्याकाल कार्यसमितिको सदस्य भई काम गरेका छन् । आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धकसमेत रहेका ढकालले कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका थिए । हाल उनको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायत दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । ढकाल नेपाल इण्डोनेसिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका उपाध्यक्ष रहेका छन् । लगानी बोर्डका आमन्त्रित सदस्यसमेत रहेका उनी हाल नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्य दूतसमेत रहेका छन् ।