‘सेन्टी भाइरस’ र ‘आमा’को दुई दिनको कमाई कति ?

महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएका यस वर्षका दुई आशातित फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ ले लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ ।

शुक्रवार र शनिवार सार्वजनिक विदा परेका कारण यी दुई फिल्मले प्रदर्शनको दुई दिनमा आकर्षक कमाई गरेका छन् । यद्यपि, कमाईको मामलामा ‘आमा’ भन्दा धेरै अगाडि ‘सेन्टी भाइरस’ छ । रामबाबु गुरुङ निर्देशित तथा हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ ले प्रदर्शनको दुई दिनमा आक्रामक कमाई गर्दै वर्षको तेस्रो ठूलो ओपनर फिल्म बनेको छ ।

फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ४७ लाख (पहिलो दिन १ करोड १२ लाख र दोस्रो दिन १ करोड ३५ लाख) कमाई गरेको निर्माण टिमले जानकारी दिएको छ । शुक्रवारको तुलनामा फिल्मले शनिवार कमाईमा ठूलो उछाल कायम गरेको छ । तर, ‘वर्ड अफ माउथ’ राम्रो नभएका कारण आइतबारदेखि फिल्मको व्यापारमा गिरावट आउन सक्ने देखिन्छ । फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन रंगशालामा खर्चिने घोषणाका कारण पनि फिल्मले प्रदर्शनको दुई दिन दर्शकको राम्रो साथ पाएको फिल्म पण्डितहरुको तर्क छ । 

 त्यस्तै, ‘सेन्टी भाइरस’ सँग एकसाथ आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले दुई दिनमा सुखद कमाई गरेको छ । वितरक करण क्रेजीले फिल्मले शुक्रवार ५७ लाख र शनिवार ७३ लाख कमाएको जानकारी दिए । उनी फिल्मको कमाईबाट सन्तुष्ट रहेको बताउँछन् । फिल्मको माउथ पब्लिसिटी बलियो भएका कारण विस्तारै हलमा दर्शक बढ्ने उनको विश्वास छ । ‘आमा’ ले दर्शक र समीक्षकबाट उम्दा प्रतिक्रिया पाएको छ । फिल्म हेरेका दर्शक हलबाट भावुक हुँदै निस्किएका छन् ।

समीक्षकले निर्देशक खनाललाई दर्शक रुवाउन लाइसेन्स प्राप्त निर्देशकको ट्याग समेत दिएका छन् । फिल्मको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको दर्शक र समीक्षकले प्रशंसा गरेका छन् । फिल्मको कथा निर्देशक खनाल स्वयंको हो ।  फिल्म ‘सेन्टी भाइरस’ मा ‘धुर्मुस सुन्तली’ का अलावा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ । भने, आमा-छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आमा’ मा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ ।फिल्मी खबर।