कुवेतमा ढिस्कोमा च्यापिएर मृत्यु भएका दुई जनाको सनाखत/रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर मगर।

कुवेत := कुवेतको निर्माणस्थलमा ढिस्को खसेर दुर्घटना हुँदा मृत्यु भएका ४ जना संगै अन्य २ जना नेपालीको पनि पहिचान खुलेको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार सनाखत भएका २ जना रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर मगर रहेका छन् ।

गएको बुधवार दिउँसो कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए । ज्यान गुमाउनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको गत हप्ता नै सनाखत भएको थियो । यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि कम्पनीको क्याम्पमा फर्केका थिए ।