काठमाडौं :=वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार दाहाललाई नियुक्त गरिएको छ । यातायात विभागका पूर्व महानिर्देशक तथा राष्ट्रिय सूचना आयोगका सहसचिव दाहाललाई वैदेशिक रोजगार विभागमा नियुक्त गरिएको हो । विभागका निवर्तमान महानिर्देशक भीष्मकुमार भुसाल १० महिनाको कार्यकाल लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएसँगै दाहाललाई विभागमा ल्याइएको हो।
विभागको महानिर्देशक पदमा दाहाल नियुक्त भएसँगै वैदेशिक रोजगारीको क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै निवर्तमान महानिर्देशक डा. भुसालले यस क्षेत्रमा धेरै चुनौती रहेको बताए । वैदेशिक रोजगार विभागका २० औं महानिर्देशक दाहाल आइतबारदेखि कार्यालय आउने भन्दै हाल आफू राष्ट्रिय सूचना आयोगमा नै रहेको जानकारी दिएका छन् ।

नयाँ बस पार्कको लोत्से बहुउदेश्यिसको फाइल अध्ययन अघि बढाएपछि दाहाललाई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले यातायात व्यवस्था विभागको महानिर्देशकबाट हटाएर राष्ट्रिय सूचना आयोग पठाएका थिए । लोत्सेमा रघुबिर महासेठकै लगानी रहेको बताइन्छ । दाहालले बाणिज्य बिभागको महानिर्देशक भएर काम गर्दा दरबारमार्ग क्षेत्रमा बजार अनुगमन गरेर चर्चा बटुलेका थिए । बिकृतिको अखडाका रुपमा रहेको वैदेशिक रोजगार विभागमा सुधारको प्रयास गरेर चर्चा बटुलेका भिष्म भुषालको ठाउँमा नेतृत्व सम्हाल्न पुगेका दाहाल सामु सुधारको गतिलाई अझै तिब्र बनाउने चुनौती छ ।




















