पुुुर्व सभामुख कृष्ण बहादुर महरा करणी काण्डमा फसेर जेल चलान भएपछि रिक्त रहेको सभामुख पदम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता अग्नि प्रसाद सापकोटा चयन भएपछि उपसभामुख को होला भनेर चर्चा परिचर्चा शुरु भएको छ ।
सत्तारुढ दल नेकपाले उपसभामुखको विषयमा आन्तरिक छलफल गरेपनि केन्द्रीय समितिको बैठकपछि टुङ्गो लगाउने तयारी गरेको छ। नेकपाले उपसभामुखका विषयमा प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनाता पार्टी(राजपा) नेपालसँग समानान्तर ढंगले छलफल अगाडी बढाएको छ । पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख राजपालाई दिन चाहिरहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कांग्रेसलाई दिने पक्षमा देखिएका छन् । सभामुख पदमा सापकोटालाई निर्विरोध निर्वाचित गर्न सघाउ पुर्याएको भन्दै कांग्रेसलाई दिनुपर्ने मनशाय प्रचण्डले ब्यक्त गरेका छन् ।
नेकपा बरिष्ठ नेता झलनाथ खनालले उपसभामुख पद राजपालाई दिने विषयमा पार्टी सकारात्मक रहेको बताउँदै राजापासँग निर्णयक वार्ता गरेर टुङ्गोमा पुग्ने जनाएका छन् । नेकपाले राजपालाई उपसभामुख दिनुपरेमा संघीय सरकामा सहभागिता र दुई नम्बर प्रदेशको प्रदेश सरकारको विषयमा प्रष्ट पार्नुपर्ने सर्त राजपासमक्ष राखेको छ । यस विषयमा राजपाभित्र दुई धार देखिएको छ ।यसअघि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको दुई बुँदे सहमती अनुसार प्रदेश २ तर्फको ४ सिटमा नेकपा र राजपा नेपाल गठबन्धनका उम्मेदवार बिजयी भइसकेका छन् । दुई बुँदे सहमतीको पहिलो बुँदा दुबै दलले इमन्दारीका साथ कार्यान्वयन गरेका छन् । दोस्रो बुँदामा उल्लेख भए अनुसार अगामी दिनमा राष्ट्रिय राजनीतिका बिषयमा छलफल र सहकार्य गर्ने बिषय उल्लेख गरिएको छ ।
अहिले नेकपा र राजपा नेपालबीच संघीय सरकार, प्रदेश २ सरकार र उपसभामुख बिषयमा केन्द्रीत भई छलफल भईरहेको बताईन्छ ।
नेकपाले राजपा संघीय सरकारमा सहभागि हुनुपर्ने र प्रदेश २ सरकारमा नेकपा–राजपा गठबन्धनको सरकार बनाउने कसरत भए पनि टुङ्गोमा पुगेको छैन । राजपाले उपसभामुख आफूले पाउँनुपर्ने र जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त अगाडी सारेको छ । नेकपाले राजपालाई उपसभामुख दिन तयार भए पनि अहिले सम्म चौधरीको रिहाईका बिषयमा सकारात्मक नभएको राजपा नेताको बुझाई रहेको छ ।राजपा स्रोतका अनुसार उपसभामुखसंगै सांसद चौधरीको रिहाई गर्नमा नेकपाले सहयोग गरे उसका अन्य सर्त मान्न सकिन्छ । आफ्ना कुरा मात्र लागु गर्ने तर राजपाको मुद्धा सम्बोधन नभए सहकार्य अगाडी बढन नसकिने राजपाले जनाएको छ ।
यही बिषयमा केन्द्रीत भई केही समय अघि देखी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेल, राजपा नेता राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिंह भण्डारी लगायतका बीचमा छलफल हुदै आएको छ ।नेकपा महासचिव बिष्णु पौडेलले दुई दल बीच भएको सहमती अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सफल भएको बताए । अगामी दिनमा पनि दुई दलका बीचमा राष्ट्रिय राजनीतिकका बिषयमा छलफल र सहकार्य गर्दै अघि बढने उनले बताए ।‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा पुर्व सहमती अनुसार दुबै दल सफल भएको छ’ महासचिव पौडेलले भने, ‘राष्ट्रिय राजनीतिकका बिषयमा अगामी दिनमा समेत सहकार्य गर्दै अगाडी बढने छौं ।’
राष्ट्रिय राजनीतिकका बिषयमा अगामी दिनमा समेत छलफल र सहकार्य गर्ने उनले बताए पनि राजपाले राखेको सर्तका बारेमा केही खुलाएनन् । यधपी दुई पार्टीका शिर्ष नेताहरुका बीचमा सहकार्य गर्दै कसरी अगाडी बढने भन्ने बिषयमा निरन्तर छलफल भईरहेको उनले बताए । नेकपाबाट सभामुख उम्मेदवार भएका अग्नि सापकोटाको समर्थक बनेका राजपा नेपालका नेता तथा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले उपसभामुख बिषयमा दुई पार्टीका बीचमा छलफल नभएको बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा दुबै पार्टीका शिर्ष नेताहरु छलफलमा रहेकाले औपचारिक निर्णय केही नभएको उनले बताए । उपसभामुख कसले पाउँने भन्ने बिषयमा औपचारिक छलफल नभएको बताउँदै उनले अहिले धेरै समय बाँकी रहेकाले अब छलफल हुनसक्ने बताए ।
‘सभामुखमा हामीले नेकपालाई समर्थन गरिसकेका छौं’ कर्णले भने, ‘उपसभामुख बिषयमा औपचारिक छलफल नै भएको छैन, अहिले धेरै समय बाँकी नै छ, हेर्दै जाउँ भोली के हुन्छ ।’प्रतिनिधिससभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत रहेकाले संसदीय अंकगणितका आधारमा नेकपाले जसलाई समर्थन गर्छ त्यसैले उपसभामुख पाउँने उनले बताए । नेकपाले राजपालाई उपसभामुख दिए पार्टीले उम्मेदवार टुंगो लगाउँने उनले बताए ।




















