काठमाडौं । कहिलेकाँही साधारण मानिसलेभन्दा कलाकार तथा अन्य उच्च पदस्त व्यक्तिहरूको सानो गल्तीले पनि ठूलो रूप लिन सक्छ । कलाकारहरू, नेता तथा सरकारी पदमा रहेका व्यक्तिका फरक व्यवहारले सामाजिक सञ्जाल तातिरहेको पाउँछौं । यसैबीच दुई दिनयता नेपाली गीतसंगीतकी लोकप्रिय गायिका आस्था राउतको एक भिडियोले सामाजिक सञ्जाल तातेको छ ।
विशेषगरी अहिले मानिसहरू फेसबुक र ट्विटरमा गायिका आस्थाको विषयमा चर्चा गरिरहेका छन् । एक सांगीतिक कार्यक्रमका लागि भद्रपुर विमानस्थल हुँदै जाने सोचमा थिइन् । काठमाडौंको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा उनले एक महिला प्रहरीसँग गरेको व्यवहार र प्रहरीले उनीप्रति गरेको व्यवहारको चर्चा निकै चलेको छ ।
आस्थाले विमानस्थलको भिडियो सार्वजनिक हुनुभन्दा अघि एक भिडियो फेसबुकमा शेयर गरिन् । यसपश्चात् उनलाई सामाजिक सञ्जालमा समर्थन गर्ने धेरै भए तर जब खास के भएको थियो भन्ने विषयमा विमानस्थलभित्रको सिसीटिभी फुटेज बाहिरियो त्यसपछि आस्थालाई दुई प्रकारका प्रतिक्रिया आइरहेका छन् । कतिले आस्थाको गल्ती देखाएका छन् भने कतिले आस्थाले राम्रो गरेको र विमानस्थलमा सर्वसाधारणलाई हेपाह प्रवृत्तिको व्यवहार गरिने भन्दै मिश्रित प्रतिक्रिया आइरहेका छन् ।
यस विषयमा अन्य थुप्रै सेलिब्रेटीले पनि आफ्नो तर्क राखिरहेका छन् । अधिकांशको प्रतिक्रियालाई हेर्ने हो भने आस्थाले जुन घटना घटिसकेपछि भिडियोमार्फत बोलेका शब्द र प्रस्तुत हुने शैलीलाई नराम्रो मानिएको छ । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले शनिबार आफ्नो फेसबुकमा लेख्दै आस्थालाई माफी माग्न आग्रह गरे । उनले बरू आफूले पनि माफी माग्ने भन्दै उनलाई सुझाएका छन् । म पनि विगतमा यस्ता धेरै घटनाबाट गुज्रेको छु यस्तै प्रकारका घटनाबाट पाठ पनि सिकेको छु भन्दै दीपकले कलाकारले गरेका क्रियाकलाप कतिपय अवस्थामा समाचार बनिदिँदा गल्ती नभए पनि स्वीकारी दिने बताएका छन् ।
‘सेलेब्रिटी भनेको सेतो कपडा रहेछ, अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन, त्याँहा नेतामात्रै भीआइपी हुँदैनन् धेरै कर तिर्ने व्यापारी, नाम चलेका खेलाड़ी, कलाकारलाई पनि भीआइपी मानिन्छ र सुविधाजनक ढंगले चेक जाँच हुन्छ र भीडको सामना गर्नुपर्दैन । यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेतामात्रै भीआइपी बनेका छन् । यो संवेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकि हामी भीडबाटै गुज्रिनुपर्छ त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ’, दीपकले लेखेका छन् ‘तिमीलाई केही नभई त्यस्तो भनिनौ होला, तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो, यो घटनालाई हामीले सबैले एउटा पाठको रूपमा लिनुपर्छ, जे हुन्छ राम्रैका लागि हुन्छ । आज कतिपय स्ट्याटसहरू कलाकार यस्तै घमण्डी हुन्छन् भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफÞी माग्छु, तिमी पनि माग, सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामी सामान्य नागरिक हांै यो वास्तविकतालाई बुझांै ।’
यस्तै लोकप्रिय गायक राजेशपायल राईले गायिका आस्थालाई रुन्ची नबन भन्दै फेसबुकमा लेखेका छन् । उनले माया लिने कलाकारले घृणा पनि लिनुपर्छ भन्ने तर्क दिएका छन् । उनले लेखेका छन्, ‘विमानस्थतमा साहरूख खानलाई त झन् कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो, अब रहृयो पुलिसले कस्तो व्यवहार ग¥यो ? चेकिङमा कफी, पानी लान पाइँदैन इभन वाल्लेट (मनी ब्याग) पनि पाइँदैन उनी बैनी हुन् राम्री गायिका हुन् अझ एक रियलिटी सोकी कोच पनि हुन् आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ माया लिनेले घृणा पनि सहनु सक्नुपर्छ । तब न हामी कलाकार, उसै त हामी नाथे कलकार, धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौ, आस्था र एयरपोर्टमा खटिएका कर्मचारी दुवै सुध्रिन आवश्यक ।’
सामाजिक सञ्जालमा सर्वसाधारण धेरैले प्रतिक्रिया तथा सुझाब दिएका छन् । एक सेलिब्रेटी भएपछि गलत तरिकाले प्रस्तुत हुन नहुने भन्दै आस्थालाई सुझाब दिएका छन् भने कतिले प्रहरीको व्यवहारलाई लिएर गाली गरेका छन् ।
यसैबीच प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंँजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिए ।




















