विजयको पारिश्रमिक सय करोड भारु

मुम्बई । तमिल सुपरस्टार विजयले आफ्नो पारिश्रमिक सय करोड लिएका छन् । यससँगै पारिश्रमिकको मामिलामा रजनीकान्तलाई विजयले उछिनेका छन् । रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड भारुसम्म बुझेका थिए ।

आगामी एक सिनेमाका लागि जियले सय करोड भारु पाउने सम्झौता भएको बताइएको छ । सन पिक्चर्सले निर्माण गर्ने एक नाम नराखिएको सिनेमामा सो रकम दिने भएको हो । सन पिक्चर्सले यसअघि उनीसँग ‘सरकार’ बनाइसकेको छ । विजयलाई सिनेमाका लागि सन पिक्चर्सले ५० करोड रुपैयाँ बुझाइसकेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार विजयले सन पिक्चर्सले बनाउन लागेको ‘थलापथी ६५’का लागि यो रकम पाएको बताए पनि यसबारेमा स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । हाल विजय ‘मास्टर’नामक सिनेमामा व्यस्त छन् । विजय अभिनित पछिल्लो रिलिज ‘बिगिल’ले बक्स अफिसमा तीन सय करोड भारु कमाइ गरेको छ ।