भविष्यमा जन्मिएको म
वर्तमानमा पाइला चाल्दै छु
अतीतमा पुगेर टुंगिने यात्रा
पुर्खाको गौरवमात्र बेच्दै छु
पृथ्वीको सौदाबाजीमा लागेका नराधम
आफैँमाथि जित्न नसक्नेको पराक्रम
थकित चिसो स्पर्शमा मस्ताएका गुरुगण
भित्रीभन्दा बाहृय आवरणका चेलागण
स्वभयबाट पूर्ण मुक्त ऊ
अरूलाई झुक्याउन उद्यत छ
होस हराएका निमुखा जनमा
आफ्नो व्यापार विस्तारमा व्यस्त छ
हिजोभन्दा आज राम्रो भए पो
भविष्यमा आशा लाग्दो हो
इमान धरम सबै हराम भएपछि
समृद्धि पनि उल्टै त लाग्दो हो ।




















