मुम्बई । बलिउड चलचित्र ‘गुड न्यूज’ले सय करोडमाथिको ब्यापार गरेको छ । अक्षय कुमार र करीना कपुर खान स्टारर ‘गुड न्यूज’लाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेसँगै प्रदर्शनको छैटौं दिनसम्ममा सयकरोडको ग्रस ब्यापार गर्न सफल भएको हो ।
प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो चलचित्रले पहिलो विकेन्डमा बक्सअफिसमा ५० करोडको आँकडा पार गर्न सफल भएको थियो । दोस्रो दिन २१ करोड ७८ लाख, तेस्रो दिन २५ करोड ६५ लाख, चौथो दिन १३ करोड ४१ लाख, पाँचौं दिन १६ करोड २० लाख र छैटौ दिन २२ करोड ५० लाख कमाउँदै ‘गुड न्यूज’ले भारतीय बक्सअफिसमा कुल १ सय १७ करोड १० लाखको व्यापार गर्न सफल भएको छ । योसँगै भारतीय फिल्मका व्यापार विश्लेषकले यो चलचित्रलाई २०१९को हिट चलचित्र घोषणा गरेका छन् ।
बक्सअफिसमा ‘गुड न्यूज’को टक्कर सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ सँग छ । तर, ‘दबंग ३’ को बाबजुद पनि अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मले सलमानको चलचित्रको व्यापारमा ठूलो असर गरेको छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिनप्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ ।
कमेडी ड्रामा ‘गुड न्यूज’को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा)को हो । दुवैले बच्चा जन्माउन आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजित दोसान्झ कियारा आडवाणीबीच निकै ठूलो कन्फ्युजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजितको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ ।




















