ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क यातायात सुविधा

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई यातायातमा निःशुल्क सुविधा दिने व्यवस्था मिलाएको छ । गाउँपालिकाभित्र रहेका सवै वडाका ज्येष्ठ नागरिकहरुलाई गत शनिबारदेखी निशुल्क यातायात सुविधा दिने व्यवस्था मिलाएको हो ।

गाउँपालिकाले बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम ४ र मात्तिम ५ का ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपाङगहरुलाई निशुल्क यातायात सुविधा दिने व्यवस्था मिलाएको महिला विकास शाखाकी संयोजक निर्मला रिजालले बताईन् । संयोजक रिजालका अनुसार गाउँपालिकाको पाँचै वडाका ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई पालिकाभित्रबाट रसुवा–गाईघाट र दिक्तेल–काठमाण्डौ निःशुल्क यातायात सुविधा दिने व्यवस्था मिलाइएको छ ।

ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई यातायातमा सुविधा दिन गाउँपालिकाले खोटाङ यातायात प्रालिसँग शुक्रबार सम्झौता गरेको छ । सम्झौता अनुसार प्रालिको बसमा चढेका सम्वन्धित व्यक्तिहरुले परिचयपत्र देखाउनुपर्ने र बसका कर्मचारीले उनीहरुकोे परिचयपत्र नम्बरसहितको टिकट पालिकामा बुझाएपछि भुक्तानी दिने व्यवस्था मिलाइएकोे छ । 

गाउँपालिकासँग गरिएको सम्झौता अनुसार काम गर्न प्रालि तयार रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । रसुवा–गाइघाट, दिक्तेल–काठमाण्डौ गरी १ सय वटा बसहरु प्रालिको मातहतमा सञ्चालन भईरहेको महासचिव हिङमाङले बताए । 

ज्येष्ठ नागरिक र अपाङ्गलाई यातायातमा सुविधा दिन परिचयपत्र दिइएको र सो परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्न पाईने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

 हालसम्म यहाँ ९ सय १३ जना ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र प्रदान गरिएको छ ।