उखु किसानलाई भुक्तानी दिन माग

काठमाडौं । उखु किसानहरूको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । बुधबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले उखु किसानको भुक्तानी गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका हुन् । 

विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकारको नीति नै किसानमारा रहेको बताए । उखु किसानको समस्या चाँडो सम्बोधन नभए माइतीघर गएर आफू पनि आन्दोलनमा सामेल हुने उनको चेतावनी थियो ।

उनले भने, ‘सरकारको नीति किसान मारा देखियो । कहिले दूध पोख्नुपरेको छ । कहिले तरकारी बारीमै डोजर लगाउनुपरेको छ । कहिले के कहिले के । समस्या ज्यूँका त्यूँ छ ।’ 

उखु किसानहरूले भुक्तानी पाउन नसकेको, उनीहरूका लागि छुट्याइएको अनुदानसमेत बिचौलियाले खाइदिएको टिप्पणी गर्दै उनले सरकारले गम्भीर रूपमा लिएर यो विषय टुंग्याउनुपर्ने बताए ।

कांग्रेसकै सांसद अनिता देवकोटाले सरकार कसको हो भन्दै प्रश्न गरिन् । ‘सरकार कसको हो ? गरिब किसानको हो कि होइन ?’ उनले भनिन्, ‘श्रमिकहरूको हो कि होइन ? यदि हो भने तत्काल सरकारले उखु किसानको भुक्तानी दिएर उनीहरूका माग पूरा गरोस् ।’ 

चिनी मिलहरूले ५ वर्षदेखि उखुको भुक्तानी नदिएको भन्दै सर्लाहीका उखु किसानहरूले केही दिनदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् । एकवर्षमा भुक्तानी गर्नुपर्ने प्रावधान भए पनि ५ वर्षसम्म करोडौँ रुपैयाँ भुक्तानी नभएको भन्दै किसानहरू आन्दोलित बनेका हुन् । सरकारले दिने अनुदान पनि किसानहरूले पाएका छैनन् । 

अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ नदिएको किसानहरूले बताउँदै आएका छन् ।