११ करोडभन्दा बढी बिगोदाबीसहित मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा विभिन्न कम्पनी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ११ करोड ८१ लाख १६ हजार ७ सय ८५ रुपैयाँ बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबीसहित काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा १२ स्थित श्रीराम टोबाको उद्योग प्रालिसमेतलाई राजस्व चुहावट गरेको अभियोगमा १० करोड ७३ लाख बिगो कायम गरी रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । श्रीराम टोबाको उद्योगका सञ्चालक टानबहादुर पाण्डे, कमल किशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रवणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मा छन् । उनीहरूले उद्योगबाट उत्पादित अन्तःशुल्क लाग्ने सूर्तिजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताको सहयोगमा विना स्टिकर, विना कर बिजक बिक्रीवितरण गरी तथा प्याकिङ गरेको प्याकेटमा परिमाणभन्दा बढी मालवस्तु उत्पादन प्याकिङ तथा बिक्रीवितरण गरेको पाइएको छ । 

उद्योगबाट उत्पादनहरू बिक्री गर्न विभिन्न फर्म श्यामलाल बञ्जाडे ट्रेड सेन्टरका प्रोपाइटर श्यामलाल बञ्जाडे, जय महालक्ष्मी जनरल स्टोर्सका प्रोपाइटर गोपीकृष्ण गैरे, नव अन्नपूर्ण स्टोर्सका प्रोपाइटर राजकुमार जयसवाल, शनी स्टोर्सका प्रोपाइटर नारायणप्रसाद श्रेष्ठ र एलजि ट्रेड सेन्टरका प्रोपाइटर लक्ष्मण ज्ञावलीसमेतबाट अन्तःशुल्क स्टिकर नलगाएको सूर्तिजन्य पदार्थ बरामद भएको विभागले जनाएको छ । उक्त उद्योग उल्लेखित पाँचवटा फर्मले जम्मा ४० लाख ७७ हजार ४ सय ६१ रुपैयाँ गरी कुल जम्मा बिगो १० करोड ७३ लाख ३ हजार ८ सय ३७ रुपैयाँ राजस्व चुहावट गरेको देखिएकाले श्रीराम टोबाको उद्योगका सञ्चालक टानबहादुर पाण्डेसमेतका प्रतिवादी तथा पाँचवटा फर्मका प्रोप्राइटरबाट उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजित बिगो असुल गराई बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ ।

त्यस्तै झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छली गर्ने रामेछाप जिल्ला स्थायी बसोवास भई हाल काठमाडौं बस्ने न्यू लालीगुराँस इन्टरप्राइजेजका प्रापाइटर कमलप्रसाद तिवारीसमेतले राजस्व चुहावट गरेको अभियोगमा ५९ लाख ३४ हजार ८ सय २८ रुपैयाँ कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

न्यू लालीगुराँसले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्यअभि वृद्धिकर (भ्याट) विजकमात्र खरिद गरी भ्याट र आयकरसमेतको राजस्व चुहावट गरेको देखिएकोले भ्याटतर्फ २१ लाख ९६ हजार ३ सय १९ र आयकरतर्फ ३७ लाख ३८ हजार ५ सय ८ गरी जम्मा बिगो ५९ लाख ३४ हजार ८ सय २८ रुपैया राजस्व चुहावट गरेकाले न्यू लालीगुराँसका प्रोप्राइटर तिवारी हुन् । उक्त फर्मको कारोबारलाई प्रमाणित गर्ने कागजात तथा निजले अनुसन्धान अधिकृतसमक्ष गरेको बयानमा इवन इन्टरनेशनल प्रालिलगायत अन्य फर्म निम्न आर्थिक अवस्था भएका सामान्य नेपाली नागरिकका नाममा दर्ता गरी सञ्जय साह भनेर चिनिने जयकिशोर साहसमेतलाई उल्लिखित कसुर बिगो रकम ५९ लाख ३४ हजार ८ सय २८ रुपैयाँ असुल उपर गराई बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

त्यस्तै एक भारतीय नागरिकउपर विदेशी विनिमय अपचलन गरेको अभियोगमा ४८ लाख ७८ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी बिगोको तीन गुणासम्म जरिवानाको मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । गत मंसिर ८ गते काठमाडौंबाट दुबई जान लागेका उनीबाट साउदी रियाल ५ सयदरका ३१८ थानले हुने १ लाख ५९ हजार रुपैयाँ बरामद गरी यस विभागमा दाखिला हुन आएको पनि विभागले जनाएको छ ।