दीपक भन्छन्, ‘देश उतैबाट चल्या छ’

काठमाडौं । नेपाली चलचित्रका सफल निर्माता दीपकराज गिरीले पोष्ट गरेको एक स्टाटस अहिले नेपाली चलचित्र क्षेत्रमा सोचनीय बनेको छ । उनले बनाएका चलचित्रले मुनाफा कमाएका छन् । एकपछि अर्को चलचित्रबाट सफल मानिएका दीपकले नै चलचित्र क्षेत्रप्रतिको दुखेसोको स्टाटस पोष्ट गर्दा धेरै चलचित्रकर्मीहरूको ध्यान केन्द्रित भएको छ ।

विदेशी चलचित्रलाई नेपालीहलहरूले दिने स्थान र नेपाली चलचित्रलाई हेप्ने प्रवृतिबारे दीपकले लेखेका हुन् । नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो हुँदा पनि मल्टीप्लेक्सहरूले शोज बढाउन आवश्यक ठान्दैनन् । तर, विदेशी चलचित्रलाई भने आवश्यकभन्दा पनि बढी शोज दिइन्छ । एकै मितिमा ठूलो विदेशी चलचित्र प्रदर्शन हुँदा त झन् नेपाली चलचित्रले एक शोज पाउन पनि गाह्रो हुन्छ । 

गएको शुक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दबंग ३’ले पाएको शोजप्रति ‘छ माया छपक्कै’ का निर्माताद्वय रोहित अधिकारी र दीपकराज गिरीले असन्तुष्टि व्यक्त गरेका हुन् । दीपकले आफ्नो फेसबुकमा लेखेका छन् ‘सत्य कुरा …सही हो ….देशै उताबाट चल्या छ, हलको के कुरा….निर्माताहरू हलवालासँग डराउँछन्, हलवाला वितरकसँग डराउँछन्, वितरक उताको खान्छन् अनि यता कराउँछन् ।’ नेपाली चलचित्रलाई हलवालाले सौतेनी व्यवहार गर्ने भन्दै रोहित फेसबुकमा लेख्छन् ‘यो ‘दबंग’ भन्दा ४÷५ गुणा बढी हाम्रो नेपाली फिल्म ‘छक्का पञ्जा’ सिरिजहरू चलेका थिए तर शोज चाहिँ ४÷५ गुणा कम थियो । नेपाली फिल्म भएर कम दिइएको थियो ।’

सलमान खानको ‘दबंग ३’ लाई प्रदर्शनको पहिलो र दोस्रो दिन नेपालका अधिकांश मल्टीप्लेक्सले सर्वाधिक शोज दिए । नेपालको सबैभन्दा ठूलो क्यूफएक्स चेनले चलचित्रलाई पहिलो दिन ८८ शोज उपलब्ध गराएको थियो ।