‘फ्यान भन्छन् रोमान्टिक सुहाउँछ’

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘लभ यू हमेशा’ यही मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । दोस्रो पटक प्रदर्शन मिति तोकेर उक्त मितिमा पु¥याइएको यो चलचित्रको बुधबार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरियो । ‘यो हावा किन चल्छ ?’ बोलको रोमान्टिक गीतको भिडियोमा चलचित्रका मुख्य नायक नायिकालाई देख्न सकिन्छ । चलचित्र टिमले यसगीतबाट थप प्रमोशन हुने आशा लिएको छ ।

गीतको भिडियोमा चलचित्रका नायक यशराज गराच र नवनायिका ऋचा थापा फिचर्ड छन् । गीतमा मेलिना राई र सुधीर राईको स्वर छ भने भासुले शब्द सिर्जेका छन् । गीतमा संगीत पनि उनकै छ । गीत सार्वजनिक कार्यक्रममा नायक यशराजले आफ्नो यसअघिका चलचित्रभन्दा ‘लभ यू हमेशा’बाट ठूलो आशा लिएको बताउँछन् । ‘यसअघिका चलचित्रमा काम गर्दा केही अपरिपक्क थिएँ होला अहिले काममा अझ परिपक्कता आएको छ । ‘यस्तो चलचित्र निर्माण टिम पनि नेपाली चलचित्रक्षेत्रमै काम गरिरहनुभएका पुराना र अनुभवि ब्यक्ति हुनुहुन्छ’, यशराजले भने ‘चलचित्रको सार्वजनिक ट्रेलरमा आएका प्रतिक्रिया हेर्दा दर्शकलाई चलचित्र पनि मनपर्नेछ भन्ने लागेको छ ।’ कार्यक्रममा चलचित्रका निर्देशक भाष्कर प्रधान उपस्थित थिएनन् । पारिवारिक विशेष कारणले भाष्कर उपस्थित हुननसकेको जानकारी यशराजले नै दिए ।

नायक यशराजलाई सञ्चारकर्मीले व्यक्तिगत जीवनका केही प्रश्न पनि सोधे । ‘तपार्इं विवाहित मान्छे, त्यसमाथि छोराको बुबा पनि, यसरी भिडियोमा रोमान्स गर्दा केटी फ्यानबाट कस्ता म्यासेस आउने गर्छन् ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा यशराजले आफ्ना फ्यानले व्यक्तिगत जीवनको कुरालाई लिएर मन नदुखाउने बताउँछन् । उनी भन्छन्, ‘मैले यसअघि दुईवटा चलचित्रमा काम गर्दा बिहे भइसकेको थियो । त्यतिखेर पनि फ्यानले तपाईलाई रोमान्टिक भएकै सुहाउँछ भन्नु हुन्छ । विशेषगरी महिला फ्यानहरूले नै यस्तो भन्नुहुन्छ ।’

यस्तै चलचित्रकी नवनायिका ऋचा थापाले ‘लभ यू हमेशा’ यसअघि दार्जिलिङलगायत भारतका विभिन्न शहरमा प्रदर्शन भइसकेको र राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै नेपालमा पनि त्यस्तै राम्रो प्रतिक्रियाको अपेक्षा राखेको बताइन् । चलचित्रमा यशराज र ऋचासँगै फिजा योञ्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायत कलाकारको अभिनय छ । 

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुतिमा फिल्म बनेको हो । मिलन गुरुङ चलचित्रका सहनिर्माता हुन् । भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको चलचित्रको कथा निर्देशक भास्करकै हो । एनबि महर्जनको द्वन्द्व रहेको चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।