काठमाडौं । नेपाली चलचित्रक्षेत्रका सुपरस्टार भुवन केसीको प्रेमको चर्चा पहिल्यैदेखि चल्न आएको छ । नायिका जिया केसीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका भुवन कुनै कार्यक्रम होस् या विदेश भ्रमणसँगै लिएर हिँड्छन् । यही २४ नोभेम्बरमा जापानको टोक्योमा आयोजना हुन गइरहेको ‘सूर्य इन्टरनेशनल अवार्ड’का लागि मंगलबार साँझ जियासँगै विमानस्थलमा भेटिए ।
प्राय जियालाई मिडियामा खुलाउन नचाहाने भुवन यसपटक भने क्यामेराअघि नै बोलाए । विमानस्थल पुगेदेखि नै मिडिया पछ्याएको देखेपछि भुवनले जियालाई पनि खुलेरै अन्तर्वार्ता दिन आग्रह गरे । यसअघि विदेश भ्रमणमा जाँदा भुवनले मात्र बोल्ने गरेका थिए भने जियाले मुख छोपेर विमानस्थलमा छिर्ने गरेकी थिइन् । अवार्ड समारोहमा भूवनका छोरा नायक अनमोल केसी पनि सहभागी हुँदैछन् । तर मंगलबार उनीहरूसँगै देखिएनन् । अनमोल छुट्टै किन भन्ने सञ्चारकर्मीको प्रश्नमा भुवनले आफूहरू दुई रात हङ्कङमा बिताउने र त्यसपछि मात्रै जापान जानेभएकाले अनमोलको अर्को मिति र समयमा उडान रहेको जानकारी दिए । भूवनले आफ्नो आगामी चलचित्र ‘एन्टी हिरो’को एक गीतको छायांकनका लागि हङ्कङमा लोकेसन हेर्नुपर्ने भएकाले दुई दिनअघि जान लागेको जानकारी दिए ।
सूर्य इन्टरनेशनल अवार्डमा नायक अनमोलको क्याप्टेन चलचित्रले अवार्ड पाउने अपेक्षा राखिएको छ । नायिका जियाले अनमोलले अवार्ड पाउनेमा सतप्रतिशत ढुक्क रहेको बताइन् । भुवनले जापानको अवार्ड समारोह सकिएलगतै अर्को एक फिल्म अवार्ड समारोहका लागि अमेरिका पुगेर फर्किने जानकारी दिए ।
अभिनेता भुवनसँग जिया लामो समयदेखिसँगै बस्दै आएकी छन् । भूवन, जिया र अनमोल काठमाडौंमा एकैघरमा बस्दै आएका छन् । विशेषगरी विदेशमा हुने कार्यक्रममा भुवनले जियालाई सँगै लैजाने गरेका छन् । स्रोतका अनुसार भुवनलाई विदेशका कार्यक्रममा लैजानका लागि जियाका लागि पनि हवाई टिकट काटिदिनुपर्छ । भुवनले जियाका लागि पनि हवाई टिकट काटिदिन आग्रह गर्छन् ।
आधा दर्जन बढी चलचित्रमा अभिनय गरेकी नायिका जियाले पछिल्लो समय चलचित्रमा काम गर्न छाडेकी छन् । सन् २०१३ मा ‘हो यही माया हो’बाट अभिनय यात्रा सुरु गरेकी जियाले ‘एटिएम, बबार्द, रङ वे’जस्ता विवादित चलचित्रमा काम गरेकी छन् । विशेषगरी उनले अभिनय गरेको चलचित्र ‘एटिएम’ ग्लामरको हिसाबमा चर्चामा आएको थियो ।




















