हलमा भुवनको मिस्टर नेपाली

काठमाडौं । आज (शुक्रबार) बाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ । प्राय सातामा दुई देखी चारवटा चलचित्र प्रदर्शन भइरहेका बेला यो साता भने ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ प्रदर्शनमा आएका हुन् । 

मल्टिप्लेक्स हलमा सम्हाली राख है ले शो पाएको छैन भने मिस्टर नेपालीले जम्मा सात शो पाएको छ । यी दुईसँगै अन्य दुई विदेशी चलचित्र पनि आजैबाट प्रदर्शनमा आएका छन् । साथै हलमा अन्य नेपाली चलचित्रपनि प्रदर्शन भइरहेका छन् ।

मिस्टर नेपालीसँगै बलिउडका सिद्धार्थ महोत्राको मुख्य भूमिका रहेको चलचित्र ‘मर्जाबान’ प्रदर्शनमा आएको छ । यस्तै एक हलिउड चलचित्र ‘चार्लि एञ्जल’ पनि प्रदर्शनमा आएको छ । नेपाली चलचित्र मिस्टर नेपालीमा अभिनेता भुवन केसीको मुख्य भूमिका छ । नवकलाकार धेरै रहेको यो चलचित्रमा भुवन भिलेनको अवतारमा देखिएका छन् । 

देशभर एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र मिस्टर नेपालीलाई क्युएफएक्स चेनले पहिलो दिन दिएको सात शो मध्ये भक्तपुरमा खोलिएको नयाँ हलले दिनमा दुई शो छुट्टाएको छ । अन्य कुनैमा दुईवटा शो छैन । तर आजैबाट प्रदर्शनमा आएको बलिउड चलचित्रलाई भने ३२ शो दिइएको छ । यस्तै हलिउड चलचित्रलाई १८ शो दिइएको छ । यसरी हेर्दा नेपाली शोलाई हलहरूले जबरजस्त शो दिइएको बुझिन्छ । 

पहिलो दिनमा दिइएको शो मा दर्शकको राम्रो उपस्थिति भएन भने दोस्रो वा तेस्रो दिनबाट हलबाट बाहिरिने सम्भावना देखिन्छ । तर चलचित्रको ‘माउथ पब्लिसिटी’ले राम्रो काम ग¥यो र समीक्षा राम्रो आयो भने शो नबढ्ला भन्न सकिन्न । 

केही दिनअघि मिस्टर नेपालीको अमेरिकामा प्रिमियर शो गरिएको थियो । जसबाट राम्रो प्रतिक्रिया मिलेको निर्माण टिमले जनाएको छ । देव भुसालको निर्देशनमा बनेको यो चलचित्रमा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा प्रेमराज दाहालको लगानी छ । 

चलचित्र ‘सम्हाली राख है’ आरएल मोक्तानले निर्देशन गरेका हुन् । अर्जुन कँुवर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अञ्जना खत्री, आरएल लामा, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको यो चलचित्रले देशभरका सिंगल थिएटरमा ठाउँ पाएको छ । निर्देशक आरएल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाईं हुन् ।