काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले ‘छ माया छपक्कै’ यस वर्षको सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र भएको दाबी गरेका छन् । विदेशी फिल्मका कारण सिनेमा घरमा कम शो दिए पनि आफ्नो चलचित्रले वर्षमा अन्य चलचित्रभन्दा बढी कमाएको दाबी गरेका छन् ।
बिहीबार फेसबुकमा स्टाटस पोष्ट गर्दै उनले अनेकौं बाधा, अवरोध र अडचनका बाबजुद दर्शकको मायाले ‘छ माया छपक्कै’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म बनेको उल्लेख गरेका हुन् । दीपकले भारतबाट हिन्दी फिल्म किनेर ल्याउने र नेपाली चलचित्रलाई सिनेमा घरमा कम शो दिन फिल्म वितरकहरू सक्रिय रहेको आरोप लगाएका छन् ।
उनले विदेशी फिल्म बेचेर दालभात खाएर नेपाली फिल्मकर्मीलाई तर्साउने व्यक्तिविरुद्ध सशक्त भएर अगाडि बढ्ने प्रणसमेत गरेका छन् । उनले लेखेका छन्, ‘विदेशी फिल्मलाई प्रतिबन्ध होइन निश्चित कोटा लगाउने सञ्चारमन्त्रीको उद्घोषलाई स्वागत गर्दै हामी हाम्रो नेपाली फिल्मको गुणात्मक वृद्धिका लागि सबै निर्मातासँग छलफल र सहकार्य गर्न पहल गर्ने छौं ।’ दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’मा दीपकराज गिरीसँगै केकी अधिकारी, केदार घिमिरे (माग्ने बुढा), जीतु नेपाललगायत कलाकारले अभिनय गरेका छन् ।




















