शत्रु गतेलाई युट्युवमा तारिफ

काठमाडौं । गएको वर्षको चैतमा प्रदर्शन भई सफल मानिएको नेपाली चलचित्र ‘शत्रु गते’ इन्टरनेट रिलिज अर्थात् युट्युवमा सार्वजनिक गरिएको छ । प्रदीप भट्टराई निर्देशित यो चलचित्र युट्युवमा आएको २४ घण्टामै लगभग एक मिलियन भ्युज कमाउन सफल भयो । नेपाली युट्युवको ट्रेन्डिङमा भारतीय चलचित्रले कब्जा जमाइरहेका बेला नेपाली चलचित्र सार्वजनिक गरिएको हो । यो चलचित्रका लागी आएका प्रतिक्रिया केलाउने हो भने अधिकांशले चलचित्रको तारिफ गरेका छन् । कतिले हलमा रिलिज भएको छिट्टै नै हेर्न पाउँदा खुशी व्यक्त गरेका छन् भने कतिले धेरैपछि राम्रो नेपाली चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका छन् । महसञ्चारले निर्माण गरेको ‘शत्रु गते’ले हलमा ५१ दिन मनाउन सफल भएको थियो ।

धेरै दर्शकले महजोडीको सम्मान गर्दै र महजोडीले बनाउने कुनैपनि चलचित्र, टेलिसिरियल सन्देश मुलक हुन्छ भन्दै पनि चलचित्र हेरेको बताएका छन् । इन्दिरा जोशी नामकी एक युट्युव प्रयोगकर्ताले प्रतिक्रियामा लेखेकी छन् ‘हास्यकला क्षेत्रको पिताहरूको सिनेमा नहेर्ने कुरा नै भएन’, यस्तै कमल सोल्टी नामका अर्का प्रयोगकर्ता लेख्छन्, ‘महको कुनै फिल्म, सिरियल हेर्न चाहिँ छोड्दिन पो म त, सन्देशमूलक हुन्छ ।

यस्तै चलचित्र हेर्दै गर्दा र नेपाली युट्युवको ट्रेन्डिङमा भारतीय चलचित्रले स्थान पाएको देख्दा कतिपयले सीमा पिच्ने भारतको चलचित्रभन्दा नेपाली चलचित्रलाई नै माया गरौं भन्दै पनि लेखेको पाइन्छ । सुभास आचार्य लेख्छन्, ‘नेपालको कालापानी हाम्रै हो यसलाई नछोउ भनेर ज्यान दिने एता, म केराला बाट ।’ चलचित्रमा हास्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मालगायत चलचित्रको मुख्य भूमिकामा छन् ।