काठमाडौं । नेपाली चलचित्रले लगानी उठाउन मुस्किल परिरहेको बेला केही चलचित्रले भने ५१ दिन मनाउने अवसर पाउँछन् । वर्षमा आउने दुई तीन चलचित्र यस्ता हुन्छन् जसले लगानीमात्र होइन मुनाफा पनि राम्रै कमाउँछन् । त्यस्ता चलचित्रमध्येको एक ‘कबड्डी’ सिरिज पनि हो । ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ यस वर्षको ब्लकबस्टर चलचित्रको सूचीमा पर्न सफल भयो । रामबाबु गुरुङ निर्देशित यो चलचित्रले प्रदर्शनको ५१औं दिन पनि पूरा गरेको छ । शनिबार राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो । बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा चलचित्रले प्रदर्शनको ५१औं दिन मनाएको निर्देशक गुरुङले बताए ।
वितरक कम्पनी स्टेशन फाइभले चलचित्रको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको छ । यस वर्षको असोजसम्म कुनै चलचित्रले यो आँकडा छुन सकेका छैनन् । ‘कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो चलचित्र बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ले ५१ दिन मनाउन सफल भएका थिए । चलचित्रले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सनविक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणि नेपाल, माओत्से गुरुङ, विजय बराललगायत कलाकारको अभिनय छ ।



















