चच हुईको क्यारेक्टर पोष्टर

काठमाडौं । आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘च च हुई’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि अझै यसको क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोष्टर सार्वजनिक गरेको हो । 

चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात् भोलाराज सापकोटा, संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात् माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पछिल्लो समय लभ स्टोरी जनरका चलचित्रमा देखिँदै आएका अभिनेता आर्यन सिग्देलको रम–कम जनरको चलचित्रमा देखिएका हुन् । दुई बेकमीले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।

चलचित्रमा प्रेम अर्थात् आर्यन नेपालबाट सानैमा हङकङ पुगेका हुन्छन् । कामलाई सिरियस रूपमा नलिने प्रेम एउटा परिस्थिति सिर्जना भएपछि नेपाल फर्किन्छन् । नेपाल फर्किएर उनी हिमाल पुग्छन् । त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ । यस्तै अर्का भोलालाई केही काम राम्रोसँग आउँदैन, हरेक काममा आलोकाचो । लाइफमा केही गर्न खोजे पनि उनलाई साथ दिने कोही छैन ।

त्यसैले भोला पनि हङकङबाट प्रेमसँगै नेपाल फर्किन्छ । र, प्रेमको सुख, दुःखसँगै हरेक मोमेन्टमा सँगै हुन्छ । यस्तै हिमालमा हुर्केकी संगीता देखिँदा जति सुशील छन्, त्यति नै चिन्दा छुच्ची । काठमाण्डू बसेर पढ्ने उनलाई परिस्थितिले त्यस्तो बनायो । उनी पढाइ सकेर हिमाली भेगमै फर्किन्छिन् । त्यसै क्रममा उनको भेट प्रेमसँग हुन्छ । त्यसपछि उनको लाइफमा सुरु हुन्छ च च हुई । 

यस्तै अर्का छन् श्यामलाल । मान्छे हेर्दा उमेरले पाको देखिए पनि श्यामलाल रमाइला छन् । उनले आफूलाई बाहेक अरू सबैलाई ढाटेका छन्, ठगेका छन् । श्यामलाल रमाइला भए पनि गैरकानुनी काम गर्छन् । उनले एउटा किताबलाई पु¥याउने जिम्मा प्रेम र भोलालाई दिएका हुन्छन । 

समयमै किताब भनिएको ठेगानामा नपुगेपछि त्यहि रमाइलो म्यानले आफ्नो भिलेन रूपलाई अगाडि ल्याउँछन् । चलचित्रमा निर्देशन र सम्पादन साम्तेन भुटियाको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि छ ।