काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । यसैगरी नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा डा. बाँस्कोटालाई नियुक्त गरेका हुन् ।
सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चारवर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् । डा. बाँस्कोटा नाक, कान, घाँटी विशेषज्ञ हुन् । उनले सोमबार नियुक्ति पत्र बुझेर कार्यभार सम्हाल्ने स्रोतले बताएको छ । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गत साउन २० गते उपकुलपति खोज्न ‘सर्च’ समिति बनेको थियो । गत भदौ ६ गतेदेखि तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिएको थियो । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा उपकुलपति नियुक्त भएका थिए । उपकुलपति रिक्त भएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई बढीमा तीन महिनाका लागि कार्यवाहक कुलपतिको जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मुटु रोग विशेषज्ञ डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशकका रूपमा जिम्मेवारी निर्वाह थिए । उनलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो ।
कोइराला विश्वविद्यालयको उपकुलपतिका लागि इच्छुक नदेखिएपछि सरकारले काउन्सिलको अध्यक्षमा नियुक्त गरेको बताइएको छ । मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे भने जानकारी दिइएको छैन । सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आएको छ ।




















