सरिताको मेरो जवानी

गायिका सरिता भारतीको नयाँ गीत ‘मेरो जवानी…’को भिडियो बुधबार सार्वजनिक गरिएको छ । आधादशकदेखि विभिन्न स्टेज कार्यक्रममा अरूको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी केही समय यताबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायन सिकिरहेकी छिन् ।

लोक पप शैलीको यो गीत ‘डान्सिङ आइटम नम्बर’ बनेको छ । अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको यो गीतमा बेजोड नृत्य छ । बिनुसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीको नृत्य पनि त्यत्तिकै बेजोड छ । भिडियोमा अभिनेता मोडल रमेश चन्द सोडारीले पुरुष मोडलको भूमिका निभाएका छन् । भिडियोमा गायिका सरिता आफैं पनि मोडलको रूपमा छिन् ।

बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माइकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । फ्रि स्टाइलको डान्स प्रस्तुत गरिएको उनको कोरियोग्राफी प्रशंसनीय छ । रामशरण उप्रेतीको छायांकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो तयार भएको हो । जसमा गायिका भारती र बिना राना मगरको श्रृंगार रहेको छ । 

भिडियो डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । गीतमा डब्बु क्षत्रीकै शब्द र जुगल डंगोलको संगीत रहेको छ । गीतको संगीत संयोजन र रेकर्डिङ पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज पुतलीसडकमा रेकर्ड गरिएको यो गीत र भिडियो विलक्षण क्रियसनले निर्माण तथा उत्पादन गरेको हो ।