शीतलको सम्हाली राख है कार्तिकमा

अभिनेता शीतल केसीको मुख्य अभिनय रहेको चलचित्र ‘सम्हाली राख है’ आउँदो कात्र्तिक २९बाट प्रदर्शनमा आउने भएको छ । आरएल मोक्तानको निर्देशित यो चलचित्रमा शीतलसँगै अर्जुन कुवँर, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अञ्जना खत्री, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र अहिले पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ ।

तारा शंकर फिल्मस् प्रालिको व्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा विक्रम कार्कीको कथा, ग्रीस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपकरमणको संगीत समेटिएको छ । 

शंकर अधिकारी घायल र दीपकरमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पटकथा संवाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाईं हुन् । काठमाडौँ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । फिल्म सबै नेपालीले हेर्नुपर्ने बनेको निर्देशक मोक्तानले बताए ।

युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामहिक विषयवस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ चलचित्र निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए ।

‘नेपाली चलचित्रमा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो ।’ कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नुपर्ने सन्देशसमेत चलचित्रले दिने निर्माता महर्जनले बताए ।