३ दिनमा ९ लाख टिकट बुकिङ

काठमाडौं । दशैं तिहारमा उपत्यकाबाहिर जानेहरूको लागि अग्रिम टिकट खुलेसँगै ३ दिनमा ९ लाखभन्दा बढी बुकिङ टिकट भएको छ । 

यातायात व्यवस्था विभाग, राष्ट्रिय यातायात व्यवसायी महासंघको सहमतिमा गत सोमबार अर्थात् असोज ५  गतेबाट अग्रिम टिकट बुकिङ सुरु भएको थियो । टिकट बुकिङ सुरु भएको एक हप्ता नहुँदै लामो तथा छोटो दूरीको यात्राको ९ लाखभन्दा बढी टिकट बुकिङ भइसकेका छन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘टिकट खुलेको ३  दिनमै ७०  प्रतिशत अर्थात् ९ लाखभन्दा बढी  टिकट बुकिङ भइसकेको छ ।’ नयाँ सवारीसाधन यस वर्ष कतै पनि व्यवसायीले नथपेको कारण अघिल्लो वर्षभन्दा उपत्यकाबाट बाहिरिने सवारीसाधन कम रहेको उनको भनाइ छ । अझै केही दिनभित्रमा टिकट बुकिङ १७ देखि १८ लाखसम्म पुग्ने महासंघको अनुमान छ । हरेक वर्ष सार्वजनिक यातायातबाट मात्र १६ लाखभन्दा बढी यात्रुहरूले उपत्यका छोड्ने गरेका छन् ।

त्यसैगरी, निजी तथा मोटरसाइकलबाट ५ देखि ६ लाख गरेर २० देखि २१ लाख यात्रु बाहिरिने महासंघको भनाइ छ । विशेष गरी फूलपातीको दिनदेखि उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने गरेको छ । यस वर्ष पनि हालसम्मको नतिजामा पनि फूलपाती, अष्टमी र नवमीको दिनको लागि धेरै टिकट बुकिङ भएको महासंघको अनुमान छ । यी तीन दिनमा उपत्यका छोड्ने साना तथा ठूला दूरीका सवारीसाधनको संख्या धेरै हुने देखिन्छ ।

असोज ५ गते खुलेको अग्रिम टिकट बुकिङ गर्न सर्वसाधारणहरू बिहानदेखि नै लाइनमा लाग्ने गरेका छन् । बालाजुको नयाँ बसपार्कको यात्रु सहायता कक्षका प्रहरी प्रमुख राजन बस्यालका अनुसार  यसपालि टिकट बुकिङ ढिलो खुलेका कारण टिकट काउण्टरमा भिड थेगिनसक्नु छ । 

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको भाडादर वृद्धि  गर्नुपर्ने माग राखेर टिकट बुकिङ खुलाएको थिएन आपसी सहमतिपछि भाडा नबढ्ने गरी बुकिङ खुला भएको हो । फूलपाती, अष्टमी र नवमीका दिन धेरै यात्रु बाहिरिने भएकोले विशेष सुरक्षा व्यवस्था गर्न व्यवसायी संघले पहल गरिरहेको सचिव सिटौलाले बताए ।