सी चिनफिङ विचारधारा र बिआरआइबारे चर्चा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) प्रयोग गरेर नेपालले आफ्नो समृद्धि र विकास गर्न सक्ने बताएका छन् । शनिबार राजधानीमा भएको ‘सी चिनफिङ विचारधारा र बिआरआई ः के विश्व व्यवस्था बदलिन्छ ?’ नामक गोष्ठीमा शर्माले बिआरआई परियोजनालाई नेपालले आफ्नो हितअनुकूल प्रयोग गर्नुपर्ने बताएका हुन् । 

बिआरआईमार्फत चीनले विश्वको विकासको कुरा गरेकोले नेपालले पनि यो परियोजनालाई आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्ने उनको भनाइ थियो । चीनले आफ्नो देशका लागि मात्रै नभएर विश्वकै विकासका लागि उक्त परियोजना अगाडि बढाएको प्रष्ट पार्दै उनले भने, ‘बिआरआईमार्फत चीनले विश्वकै विकासको कुरा गरेको छ, हामीले परियोजनालाई हाम्रो हितमा प्रयोग गर्नुपर्छ ।’

कार्ल माक्र्स द्विशतवार्षिकी समारोह समितिले आयोजना गरेको गोष्ठीमा नेकपा प्रादेशिक मामिला विभागका प्रमुख घनश्याम भुसालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा विश्व व्यवस्था एसियातिर सरेको चर्चा चल्न थालेको र त्यही कुराबाट अत्तालिएर चीनविरोधी शक्ति ऊविरुद्ध लागेको दाबी गरिएको छ ।

‘बीआरआई संयुक्त राष्ट्रसंघका उद्देश्य र सिद्धान्तहरू, असंलग्न राष्ट्रहरुको आन्दोलन र त्यसका प्रस्थापनाहरु र अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग संगठनका सकारात्मक पहलकदमीहरूको जगमा निर्मित विभिन्न राष्ट्रहरूले साझा भविष्य खोज्न आर्थिक विकासका आआफ्ना बाटाहरू, विचारधाराहरू र अन्य सामाजिक–राजनीतिक मामिलामा स्वतन्त्रता र समानताका साथ अगाडि बढ्न खोज्ने सबैको साझा मञ्च हो,’ कार्यपत्रमा उनले भनेका छन्, ‘ती प्रस्थापनाहरूले गर्दा इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरूको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहलकदमी हो । यस अर्थमा राष्ट्रहरूका बीच साझा हित खोज्न यसभन्दा अघि भएका पहलकदमीहरूमा रहन गएका कमजोरी र सीमाहरूलाई यसले सम्बोधन गर्ने मान्यता राख्छ ।’

नेकपा नेता सुरेन्द्र पाण्डेले एसियाको विकासका लागि चीनले गरेको पहललाई स्वागत गर्नुपर्ने बताए ।