स्कूल जाँदै गरेकी छात्रामाथि एसिड प्रहार

काठमाडौं । वीरगन्जमा एक किशोरीमाथि एसिड आक्रमण भएको छ । शुक्रबार बिहान वीरगञ्ज २ छपकैयाकी १५ वर्षीया एक छात्रा विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा परेकी हुन् । 

एसिड आक्रमण भएपछि उनलाई नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको छ । उनलाई कीर्तिपुरस्थित काठमाडौं मोडेल अस्पतालको ‘बर्न अस्पतालमा’ मा भर्ना गरिएको छ ।  

ती छात्रा त्रिभुवन हनुमान माध्यमिक विद्यालयकी विद्यार्थी हुन् । उनीमाथि शुक्रबार बिहान ६ बजे विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले बताए । ती छात्रा हिँड्ने बाटामा लुकेर बसेका दुई किशोर छात्रामाथि एसिड छ्यापेर भागेका थिए । डिएसपी शर्माका अनुसार एसिड प्रहारबाट छात्राको छाती, पेट र अनुहारमा क्षति पुगेको छ ।  

दुई जना पक्राउ 

एसिड प्रहार गरेको आरोपमा १६ वर्ष उमेरका दुई किशोर पक्राउ परेका छन् ।  डिएसपी शर्माले अनुसन्धान जारी रहेको र एकतर्फी प्रेमका कारण एसिड प्रहार भएको बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौं । वान साइड लभका कारण यस्तो भएको भन्ने प्रारम्भिक अनुसन्धाबाट देखिएको छ,’ उनले भने । पक्राउ परेका दुवै किशोर छात्राका छिमेकी रहेको जनाइएको छ । 

प्रदेश सरकारद्वारा सहयोग

एसिड आक्रमणमा घाइते छात्राको उपचारमा प्रदेश–२ को सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।  मुख्यमन्त्री लालबाबु राउतले घटनाका दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै छात्राको उपचारमा सघाउने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यस्तै, उनको उपचारका लागि संघीय सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले पीडित छात्राको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेका थिए । काठमाडौंमा हुने उनको उपचार सांसद यादवकै पहलमा हुने बताइएको छ । 

सांसद यादवले छात्रामाथि भएको घटना दुःखद भएको बताएका छन् । उनले घटनामा संलग्नहरूमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कारबाही गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशनसमेत दिएका छन् । 

एक वर्षअघि भदौमै रौतहटको चन्द्रपुर नगरपालिका–६ का दिदी बहिनी १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारीमाथि एसिड प्रहार भएको थियो । उपचारका क्रममा सम्झनाको मृत्यु भएको थियो ।