काठमाडौं । अहिलेका अधिकांश युवा विकसित मुलुक अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान जाने सपना बोकेर हिँडिरेका भेटिन्छन् । उनीहरूले ती देशहरूमा मात्रै आफ्नो उज्ज्वल भविष्य कल्पना गर्छन् । उनीहरूको जिब्रोमै झुण्डिएको हुन्छ यी देशको नाम । एघार–बाह्र कक्षा अर्थात् ‘प्लस टु’ पास गरेर बसेका सबैजसो युवाहरू अंग्रेजी भाषा कक्षामा भेटिन्छन् । उनीहरू अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेर अध्ययन भिसामा विकसित मुलुक छिर्न चाहन्छन् ।
जति राम्रो विषय पढे पनि नेपालमा कुनै भविष्य नै नदेखेको उनीहरू बताउँछन् । हालै राजधानीस्थित ‘ओसिज ल्याङ्ग्वेज’ सेन्टरमा भेटिएकी २० वर्षीया रुचा आले दुई महिनादेखि अंग्रेजी भाषा कक्षा लिइरहेकी छन् । जसरी पनि अष्ट्रेलिया जाने उनको एउटै लक्ष्य छ । आफूसँगै पढेका चारजना दौतरीहरू अष्ट्रेलिया जान लागेको उनले सुनाइन् ।
सोही ‘इन्ष्टिच्युट’ मा अग्रेजी भाषा सिकिरहेका १९ वर्षीय सुशान्त भेटिए । भरखरै ‘प्लस ट’ु पास गरेका उनी आफ्नो अंग्रेजी भाषा क्षमता सुधारेर भाषा परीक्षामा राम्रो ‘स्कोर’ ल्याएर अष्टे«लिया जान चाहन्छन् । उनले सपनामा विदेश जान लागेको देख्ने गरेको बताए । नेपालमा कुनै कुराको अवसर नभएको पनि उनको ठहर छ । उनका केही साथीहरू पनि विदेश नै जाने सोचमा छन् । सकेसम्म राम्रो देश जाने उनीहरूको योजना छ ।
उदयपुरकी २० वर्षीया समृद्धि मगरले विदेश जान अहिलेसम्म तीन पटक अंग्रेजी भाषा परीक्षा दिइसकेकी छिन् । उनीसँगै पढेका अरू तीन जना साथीहरूले अंग्रेजी भाषा परीक्षामा राम्रो स्कोर ल्याए । स्कोर पुगे पनि पनि चाँडै अष्टे«लिया उड्नेछिन् । उनी अहिले अंग्रेजी भाषा कक्षामा पढ्दैछिन् । उनका अनुसार अभिभावक भने विदेश जाने उनको तयारीमा खुसी छैनन् । नेपालमा अवसर नरहेको ठहर गरेरै आफू विदेश जाने तयारीमा लागेको उनको भनाइ छ ।
बागबजारस्थित एक अंग्रेजी भाषा इन्ष्टिच्युटमा भेटिएका २१ वर्षीय अजय रक्स पनि अष्ट्रेलिया गएर पढ्न र पैसा कमाउन चाहन्छन् । उनी स्नातक तह दोस्रो वर्षका विद्यार्थी हुन् । स्नातकपछि उनी अष्टे«लिया जान चाहन्छन् । उनका काकाका छोराछोरी पनि अष्ट्रेलिया छन् । उनीहरूकै सहयोगमा अजय तयारी गर्दै छन् ।
यसरी नेपालमा भविष्य राम्रो नदेखेर विदेश जान भौतारिँदै हिँड्ने युवाको संख्या ठूलो छ । राजधानी काठमाडौंका अंग्रेजी भाषा इन्ष्टिच्युटहरू यस्तै युवापुस्ताले भरिएका छन् ।
यस्ता युवायुवतीमध्ये अधिकांशले अष्टे«लियालाई आफ्नो गन्तव्य रोजेका छन् । यसपछि अमेरिका, क्यानडा, जापान लगायतका मुलुक उनीहरूको रोजाइमा छन् ।




















