साहोलाई चोरीको आरोप

मुम्बई । अहिले नेपाली बजारसँगै विश्वभरै बलिउड चलचित्र ‘साहो’को चर्चा निकै छ । नेपालका अधिकांश हलमा यही चलचित्रले कब्जा जमाइरहेको छ । ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता प्रभास र बलिउडकी नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको ‘साहो’ले नेपालका मल्टिप्लेक्सहलका ९ बजेका अन्तिम शो पनि हाउसफूलका साथ व्यापार गरिरहेको छ । 

हिन्दी भर्सनमा मात्र चलचित्रले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिष्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । अहिले यो चलचित्र हलिउडको ब्लकबस्टर फिल्म ‘लार्जो विन्च’को कपी रहेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । 

हजारौंले सामाजिक सञ्जालमा यस प्रकारको ट्विट गरेपछि यसका निर्देशक जरोम सलेले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ‘लार्जो विन्च’को दोस्रो निःशुल्क निर्माण खराब रहेको बताएका छन् । 

उनले तेलुगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह गरेका छन् । योभन्दा अगाडि पनि त्रिविक्रम श्रीनिवासमाथि जरोमले आफ्नो चलचित्रको रिमेक गरेको आरोप लगाएका थिए । त्यसबेला उनले धेरैपटक पवन कल्याण स्टारर चलचित्रका मेकर्ससँग सम्पर्क गर्न खोजेका थिए तर कुनै जवाफ नमिलेपछि उनी भड्किएका थिए ।

३५० करोडमा बनेको फिल्मका निर्देशक सुजित हुन् । ‘साहो’को कथावस्तु कमजोर भए पनि मेकिङ उच्च छ । तर समिक्षागत हिसाबमा नराम्रो प्रतिक्रिया आए पनि दर्शक भने हलमा खचाखच देखिन्छन् । समीक्षा पढेर हलमा जाने या नजाने भन्ने निर्णय गर्ने दर्शकलाई केही असर गरे तापनि अन्य दर्शकलाई समीक्षाले खासै असर गरेको देखिँदैन ।