इस्लामावाद । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसीफा अली भुट्टोले बीबीसी उर्दूसँगको कुराकानीमा कश्मीर मामिलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गल्ती गरेको टिप्पणी गरेकी छन् । प्रधानमन्त्री खानले त्यस विषयमा संसद्मा ढिलो सम्बोधन गर्नु एउटा असफलता भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘पाकिस्तानी विदेशमन्त्री पाकिस्तान प्रशासित कश्मीर जानु र विश्व समुदायबाट पाकिस्तानले बढी अपेक्षा राख्न नहुने भनी उनले दिएको अभिव्यक्ति हास्यास्पद थियो ।’ हालसम्म आसीफा भुट्टो जरदारी सामाजिक कार्यकर्ताको भूमिकामा देखिएकी थिइन् । तर अहिले उनको जीवनमा राजनीतिक रङ्ग पनि देखिन थालेका छन् ।
उनी भन्छिन्, ‘अहिले जम्मु–कश्मीरमा महिलाको इज्जत सुरक्षित छैन । बालबालिकाको हत्या भइरहेको छ, प्रदर्शनकारीमाथि गोली चलाइएको छ । ‘यदि कसैले पाकिस्तानको झण्डा लहराउँछ र उसमाथि गोली प्रहार गर्नु भारतीय फौजले आफ्नो हक ठान्छ भने त्यो मानवअधिकारको उल्लंगन हो तर त्यसबारे विश्व समुदाय चुपचाप छ ।’
उनको भनाइ छ, ‘म मेरा बुवाले संसद्मा भनेको कुरा र्दोयाउन चाहन्छु, हाम्रो सरकार भइदिएको भए उहाँ पहिलो उडानबाट युएई जानुहुने थियो, त्यहाँबाट चीन, रूस र त्यसपछि इरानको भ्रमणमा जानुहुन्थ्यो । मुस्लिम देशलाई एकजुट गराउनु हुने थियो र आफ्ना सहयोगीलाई आफूहरूसँगै उभिन आग्रह गर्दै अहिले कश्मीरमा देखिएको मानव संगट र फासीवादविरुद्ध आवाज उठाउन आग्रह गर्नुहुने थियो ।’ कुराकानीका क्रममा उनले आफ्नो परिवारको योगदानको स्मरण पनि गरिन् ।
उनले भनिन्, ’मेरो हजुरबुवाले जनताको अधिकारको निम्ति आवाज उठाउन प्रेरणा दिनुभयो, आमाले त्यही बाटो समात्नु भयो, दाजु पनि हजुरबुबाको लक्ष्य र आमाको सोचलाई साकार पार्न सक्रिय हुनुहुन्छ । बिलावलले पूरै पाकिस्तानको निम्ति बोल्नुहुन्छ र म पनि उहाँसँग मिलेर जनताको आवाज बनिरहन्छु ।’
आसीफा भुट्टोले आफूलाई राजनीतिक रूपमा माझिएको खेलाडी मान्दिनन् । तर उनका भनाइमा वर्तमान सरकारको कामबारे बुझ्न राजनीतिक जानकार नै हुनुपर्ने आवश्यकता छैन, किन कि देशको हालतले उसको अवस्थाको बयान गर्छ । उनले भनिन्, ‘इमरान खानको सरकार र पूर्वतानाशाह परवेज मुशर्रफको शासनमा धेरै समानता छन् । इमरान खानको विफलताको सूची उनको सफलताभन्दा धेरै लामो छ । अभिव्यक्तिमाथि प्रतिबन्ध, मानवअधिकारको हनन् उनको सरकारबाट यही भइरहेका छन् । सरकारले आर्थिक रूपमा देशलाई अस्थिर बताएको छ ।’ उनको भनाइमा इमरान खानले ५० लाख घर दिने वचन दिएका थिए जो अहिलेसम्म पूरा भएको छैन । उनी भन्छिन्, ‘इमरान खानले भनेका थिए, बरु उनले आत्महत्या गर्नेछन् तर अर्को देशको सहयोग लिनेछैनन् तर हामीले देखिरहेका छौं उनी हरेक देशको अगाडि कचौरा लिएर उभिएका छन् ।’



















